एजेन्सी । इरानी मेस्सीको नाममा चर्चित इरानका फुटबलर सरदार अजमौनले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । रुसमा जारी फिफा विश्वकप फुटबलमा सहभागी भएका अजमौनले विश्वकप लगत्तै सन्यास घोषणा गरेका हुन् ।
अजमौनले २३ बर्षकै उमेरमा सन्यास घोषणा गरेका हुन् । अजमौनले आमा बिरामी भएको कारण जनाउदै सन्यास लिएको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएका छन् । उनको आमा गम्भीर रोगबाट पीडित भएपछि अजमौनले अन्तर्राष्ट्रिय फुटबलबाट टाढा रहने निर्णय गरेका हुन् ।
रुस विश्वकपमा इरान समूह चरणबाटै बाहिरिएको थियो । विश्वकपको पहिलो खेलमा मोरोक्कोलाई १–० ले पराजित गरेको इरानले सन् २०१० विश्व च्याम्पियन स्पेनसँग १–० ले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग १–१ को बराबरी खेलेपछि इरान घर फर्किएको थियो ।
अजमौनले विश्वकपका तीन खेल नै ९० मिनेट खेलेका थिए । अजमौनले १९ बर्षको उमेरमा इरानको लागि डेब्यु खेल खेलेका थिए । विश्वकपको छनोट खेलमा १४ खेल खेल्दै ११ गोल गोल गरेका थिए । सरदार अजमौनले अन्तराष्ट्रिय करियरमा ३३ खेल खेलेर २३ गोल गरिसकेका छन् ।