हेटौडा । स्ट्राइकर भरत शाहले ह्याट्रिक गरेपछि विभागीय टोली नेपाल पुलिस क्लब हेटौडा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।
हेटौडामा सोमबार भएको पहिलो क्वाटरफाइनलमा फ्रेन्डस् क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारको यात्रा तय गरेको हो ।
पुलिसको जितमा नायक बनेका भरतले ह्याट्रिक पुरा गरे । प्रतियोगिता कै पहिलो ह्याट्रिक गर्ने क्रममा भरतले पहिलो हाफमै ३ गोल गरेका थिए ।
फ्रेन्ड्सविरुद्ध सहज जित निकाल्ने क्रममा भरतले खेलको १२ औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा भरतले अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ४३ मिनेटमा भरतले व्यक्तिगत तेस्रो गोलसहित ह्याट्रिक पुरा गर्दा पुलिस ३-० गोल अन्तरले विजयी भयो ।
पहिलो हाफमा निरिह देखिएको फ्रेन्ड्सले दोस्रो हाफमा उच्च प्रदर्शन गरेपनि गोल फर्काउन भने सकेनन् । अन्तिम समयमा त्रिभुवन आर्मी क्लबले सहभागिता नजनाउने भएपछि फ्रेन्ड्सले प्रतियोगिता खेलेको हो ।
पुलिसले अब फाइनल प्रवेशको लागि आयोजक मकवानपुर-११ संग खेल्नेछ ।
प्रतियोगिताको विजेताले ८ लाख पाउनेछन् । यस्तै उपविजेता टिमले ४ लाख पाउनेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार पाउने जनाएको छ ।