काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रिपुर्ण म्याचमा आज (सोमबार) कुवेतसंग खेल्दैछ । मैत्रिपुर्ण फुटबल खेल्न कुवेत गएको नेपाली टिमले घरेलु टोलीसंग दोस्रो खेल खेल्न लागेको हो ।
खेल नेपाली समय अनुसार राति ९ः१५ मा सुरु हुनेछ ।
पहिलो खेलमा नेपालले कुवेतसंग गोलरहित बराबरी खेलेको थियो । नेपाल दोस्रो खेलमा सोही नतिजामा सुधार गर्ने लक्ष्य राखेको छ ।
पहिलो खेलमा पाँच जना खेलाडीले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । जसमा बिमल राना, अजित भण्डारी, रवि पासवान, सन्तोष तामाङ र सुरज विश्वकर्माले रहेका थिए ।
सिनियर टिमका अधिकांश खेलाडी एएफसी यु–२३ च्याम्पियनसिपमा ब्यस्त रहेकाले उपलब्ध खेलाडी बोकेर नव नियुक्त मुख्य प्रशिक्षक योहान कालिन कतार लागेका थिए । पहिलो खेलमा नेपालका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रर्दशन गर्दै कतारलाई निराश बनाएका थिए ।
बराबरीसंग प्रशिक्षकको यात्रा सुरु गरेका कालिन आफैसमेत पहिलो जितको खोजीमा हुनेछन् ।
खेलअघि मुख्य प्रशिक्षक कालिनले घरेलु टोलीसंग कम्तिमा बराबरी गर्ने लक्ष्य सहित मैदान उत्रने बताए ।
’हामी पहिलो खेलको प्रदर्शनलाई नै निरन्तरता दिनका लागि मैदानमा उत्रने छौं । कुवेत हामीविरुद्ध आक्रामक अबस्थामा रहने छ,’ प्रशिक्षक कालिनले भने, ’त्यसैले हाम्रो लक्ष्य उसलाई रोक्नु नै हो । अघिल्लो खेलमा जस्तै संयमित भएर प्रदर्शन गर्ने छौं । हाम्रो लक्ष्य कम्तीमा बराबरी खेल्ने हो ।’
प्रशिक्षक कालिनले नेपाली टोलीमा पहिलो खेलको नतिजाले आत्मविश्वास बढेको बताए ।
’खेलाडीले मिहेनत गरेका छन् । पहिलो खेलले आत्माविश्वास बढेको छ । जसले गर्दा दोस्रो खेलमा पनि सकरात्मक नतिजा आउनेमा म विश्वस्त छु,’ प्रशिक्षक कालिनले भने ।
यस्तै कप्तान विराज महर्जनले कुवेतलाई आफुहरु कमजोर टोली नरहेको सन्देश दिन चाहेको बताए ।
’कुवेत हामी भन्दा बलियो टिम हो तर उसलाई हामीपनि कम होइनौं भन्ने कुरा देखाएका छौं । दोस्रो खेलमा पनि हामी कुवेतलाई रोक्न शतप्रतिशत प्रयास गर्ने छौं,’ कप्तान महर्जनले भने ।
मलेसियासंगको मैत्रीपूर्ण खेल स्थगित भएपछि नेपालले फिफा वरियतामा तीन स्थान माथिको कुवेतसंग मैत्रीपुर्ण खेल खेलेको हो । फिफा वरियतामा नेपाल १६१ औं स्थानमा रहेको छ । कुवेत १५८ औं स्थानमा रहेको छ ।