एजेन्सी । अर्जेन्टिनाका लिजेण्ड डिएगो म्यारोडोनाले कप्तान लियोनल मेस्सीसहित अर्जेन्टिना फुटबल टिमको आलोचना गरेका छन् ।
अन्तराष्ट्रिय मैत्रीपुर्ण खेल अन्तर्गत भेनेजुएलासंग पराजित भएपछि म्यारोडोनाले अर्जेन्टिना टोलीको आलोचना गरेका हुन् । शुक्रबार भएको मैत्रीपुर्ण खेलमा अर्जेन्टिना ३-१ गोल अन्तरले पराजित भएको थियो ।
उक्त खेलबाट कप्तान मेस्सी अर्जेन्टिनाको टोलीमा फर्किएका थिए । मेस्सीले विश्वकपपछि पहिलो पटक अर्जेन्टिनाको टोलीबाट खेलेका थिए ।
भेनेजुएलासंगको हारपछि अर्जेन्टिनाका विश्वकप विजेता म्यारोडोनाले अहिलेको टोली राष्ट्रिय जर्सी लगाउन योग्य नरहेको बताए ।
'म डरलाग्दो फिल्म हेर्न त रुचाउँदिन तर म अयोग्य मान्छे जो भेनेजुएलालाई पराजित गर्न कसरी सोचीरहेका छन् त्यो मलाई थाहा छैन्,' म्यारोडोनाले भनेका छन्, 'यसले मलाई दुखी बनाएको छ किनकि म अर्जेन्टिनासंग भित्रै देखि जोडिएको छु ।मलाई थाहा छ ओस्कर, गाब्रेल, क्लाउडियोले के सोच्थे भनेर । अहिलेको टिमलाई अर्जेन्टिनाको जर्सी लगाउन सुहाउँदैन ।'
यस्तै म्यारोडोनाले अर्जेन्टिना पुरानो लयमा फर्केको हेर्ने चाहना रहेको बताए । उनले अर्जेन्टिना फुटबलका अध्यक्ष क्लाउडियो तापियाले त्यो लय फर्काउने विश्वाश रहेको बताए ।
म्यारोडोनाले मेस्सी असाधारण खेलाडी भएको तर उनले आलोचनाहरुलाई व्यवस्था गरेको बताए ।
' मेस्सीले आलोचकहरूलाई बेवास्ता गरेको छ । उनको गल्ती छैन । उनि एक खराब टीममा छन् । जुन टोली सधै मेस्सीमा निर्भर हुने गर्छन,' म्यारोडोनाले थपे, 'मेस्सी एक असाधारण खेलाडी हुन तर मेस्सीसंग साबित गर्न केही छैन।'
सर्वकालीन महान फुटबल खेलाडी मानिने म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ को विश्वकप जिताएका थिए ।