एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत सोमबार राजेस्थान रोयल्स र किङ्स इलाभेन पन्जाबबीच खेल हुनेछ ।
जयपुरमा हुने खेलमा दुवै टोली सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् । र, राजेस्थान र पन्जाबबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
राजेस्थान र पन्जाबबीचको खेलमा मुख्य दुई खेलाडी केन्द्रमा हुने छन् । जसको कारण खेल रोमान्चक अनुमान गरिएको छ ।
दुई टोलीबीचको खेलमा मुख्य त क्रिस गेल र स्टिभ स्मिथ केन्द्रमा रहने छन् ।
प्लेयर्स टु वाच -
क्रिस गेल
'युनिभर्सल बोस' को उपनामबाट परिचित क्रिस गेल वेष्ट इण्डिजका लेजेण्ड ब्याट्सम्यान हुन् । आईपीएल इतिहासमा गेल ४ हजार रन पुरा गर्न मात्र ४ रनले पछि रहेका छन् ।
हालै इंग्ल्याण्डविरुद्धको एकदिवसीय तथा टी-ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका गेल राम्रो लयमा देखिएका छन् । सोहि सिरिजबाट उनले टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा १० हजार रन पनि पुरा गरेका थिए । यस्तै वेष्ट इण्डिजका लागि सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका थिए ।
आईपीएलमा ६ शतक प्रहार गरेका उनी शतक प्रहार गर्ने आईपीएल खेलाडीको सूचीको शीर्ष स्थानमा रहेका छन् । यस्तै उनको नाममा सबै भन्दा धेरै छक्का प्रहार गरेको र छिटो शतक प्रहार गरेको रेकर्ड समेत छ ।
विष्फोटक ओपनिङ गर्ने गेलले २०१९ को विश्वकपपछि सन्यास लिने घोषणा गरिसकेका छन् । तर, उनले यो निर्णय फिर्ता हुन सक्ने आशय व्यक्त गर्दै आएका छन् । ३९ बर्षे गेल आफ्नो उमेर अंक मात्र रहेको बाताउँदै आएका छन् ।
स्टिभ स्मिथ
राजस्थानको उत्साह अष्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथ एक बर्षे निलम्बनपछि मैदान फर्कनु रहेको छ । उनीसंगै कारबाहीमा परेका डेभिड वार्नरले आइतबार भएको खेलमा सानदार ब्याटिङ गरेका थिए ।
विश्वका उत्कृष्ट ब्याट्सम्यान मध्ये एक स्मिथले आफ्नो पुनरागमन कस्तो गर्छन त्यो सबैको चासोको बिषय बनेको छ । स्मिथको आईपीएलको लयले विश्वकपको यात्रा पनि तय गर्नेछ ।
स्मिथबिनाको राजस्थानले गत सिजन प्ले अफमा स्थान बनाएको थियो । स्मिथको आगमनले राजेस्थान थप अघि बढ्न सक्ने अनुमान गरिएको छ ।