काठमाडौं । एएफसी यू-२३ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपालले अहिले आयोजक कतारसंग प्रतिस्पर्धा गरिरहेको छ ।
कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा पहिलो हाफको खेल सकिदा कतारले नेपालविरुद्ध १-० को अग्रता बनाएको छ । खेलको २५ औं मिनेटमा अब्दुल्लाह अल्हारकले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाएका हुन् ।
नेपालका डिफेन्डर अनन्त तामाङका कतारका खेलाडीलाई डिबक्स भित्र लडाएपछि कतारले पेनाल्टी पाएको थियो । जसमा अब्दुल्लाहले सहजै गोल गरे ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ओमानसंग १-० गोल अन्तरले पराजित भएको थियो । ओमानसंगको हारसंगै नेपालको एएफसी यू-२३ च्याम्पियनसिपमा छनोट हुने सम्भावना कमजोर बनेको छ ।
नेपाललाई दोस्रो चरणमा स्थान बनाउन कतारसंग सकारात्मक नतिजाको विकल्प छैन ।
अन्तिम खेलमा नेपालले मंगलबार अफगानिस्तानसंग खेल्नेछ ।
छनोटको शीर्ष टोलीले थाइल्याण्डमा आयोजना हुने एएफसी यू-२३ च्याम्पियनसिप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट पाँच टोलीले पनि च्याम्पियनसिप खेल्ने मौका पाउनेछन् ।