काठमाडौँ । कान्तिपुर सिटि कलेज (केसीसी) र काठमाडौं युनिभर्सिटीले तेस्रो संस्करणको कलेज क्रिकेट लिग (सिसिएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
टियु क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा केसीसीले अर्चिड इन्टरनेशनल कलेजलाई ५ विकेटले पराजित गर्यो ।
अर्चिडले दिएको ९१ रनको लक्ष्य केसीसीले १८ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
केसीसीका दिनेश अग्रिले सर्वाधिक २३ रनको योगदान दिए । यस्तै रमेस भट्ट २२, बिरेन्द्र बम १३ र दिपेन्द्र ऐरीले ११ रन बनाए । अर्चिडका लागि दिपक बोहराले २ तथा चन्द्रभक्त पौडेल र सुमन हुमागांइले समान १/१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अर्चिडले १६ ओभर ५ बलमा अलआउट हुँदै ९० रन बनाएको थियो । अर्चिडका सचिन अधिकारीले ३० रन बनाउनु बाहेक अन्य खेलाडी राम्रो गर्न सकेनन् । अर्चिडलाई सस्तैमा समेट्न दिनेश अग्रिले ह्याट्रिक विकेट सहित ४ विकेट हात पारे । यस्तै सुवास बुद्द छेत्रीले २ विकेट हात पारे ।
यस्तै दोस्रो खेलमा काठमाडौं युनिभर्सिटीले नेपाल बन कलेजलाई १ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । उसका लागि दिनेस बुढा मगर र प्रविन रिजालले अर्धशतकीय इनिङ्स खेले । प्रविनले ५१ तथा दिनेसले ५० रनको योगदान दिए । यस्तै इसान पाण्डेले ३२ रन बनाए । बन कलेजका लागि जय साउदले ३ तथा युन्तेन लामाले २ विकेट हात पारे ।
काठमाडौंले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको बन कलेज १२ ओभर ५ बलमा ७१ रन जोड्दा अलआउट हुन् पुग्यो । बन कलेजका लागि अमहदले १८ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन । बन कलेजलाई सस्तैमा समेट्न काठमाडौंका सोनु देवकोटा र रुपेस श्रीवास्तबले समान ३/३ विकेट लिए ।
प्रतियोगिताको बिजेताले २ लाख २२ हजार २ सय २२ र उपबिजेताले १ लाख ११ हजार १ सय ११ रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।