काठमाडौं । क्यामरुनको दाउफिन्स क्लब हेटौडामा जारी दोस्रो भूगर्म सिमेन्ट सहिद स्मृति कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।
आइतबार भएको अन्तिम क्वाटफाइनलमा विभागीय टिम एपीएफ क्लबलाई १–० को झिनो गोल अन्तरमा पराजित गर्दै दाउफिन्सले अन्तिम चारको यात्रा तय गरेको हो ।
दाउफिन्सको जितमा एक मात्रै निर्णायक गोल यान्निक ओवानाले गरे । खेलको ६८ मिनेटमा उनले प्रहार गरेको हेड बल क्रसबारमा लाग्दै गोल हुन पुगको थियो । खेलमा एपीएफले केहि उत्कृष्ट अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन् ।
अब दाउफिन्सले थ्री स्टार क्लब र सरस्वती क्लबबीचको विजेतासंग खेल्ने छ ।
मोफसल प्रतियोगिता खेल्न नेपाल आएको दाउफिन्सले चार उपाधि हात पारिसकेको छ । उनले मदन भण्डारी गोल्डकप, मनकामना केवलकार पोखरा कप, बुढा सुब्बा गोल्डकप र माइभ्याली गोल्डकपको उपाधि चुमिसकेको छ । भोलीको खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लब प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको विजेताले ८ लाख र उपविजेता टिमले ४ लाख प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउनेछ ।