ललितपुर । ललितपुरमा जारी ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपमा काठमाडौंका दुई क्लब च्यासल र संकटाको परिक्षा हुदैछ ।
समूह चरणको अन्तिम खेलमा भिड्न लागेको दुवै टोलीको नतिजाले अन्तिम ८ मा पुग्ने टोलीको टुङ्गो लगाउनेछ । समूह चरणमा दुई खेलबाट ३ अंक बटुलेका दुवै टोलीको लक्ष्य जित निकाल्दै क्वार्टरफाईनल पुग्नुनै हुनेछ ।
च्यासलले पहिलो खेलमा झापासंग पराजय भोगेपनि दोस्रो खेलमा विभागीय टिम एपीएफलाई हराउदै खेलमा फर्किएको थियो । संकटाले पहिलो खेलमा एपीएफलाई हराएपनि दोस्रो खेलमा झापासंग पराजित भएको थियो । त्यसैले आजको खेलको विजेता टोलीले अन्तिम ८ मा स्थान पक्का गर्नेछ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे १ बजे सुरु हुनेछ ।
अर्को खेलमा रमपम झापा फुटबल क्लबले विभागीय टिम एपीएफसंग प्रतिस्पर्धा गर्नेछ । एक खेल अगावै प्रतियोगिताको अन्तिम ८ मा पुगेको टोली झापाको लक्ष्य कम्तिमा बराबरी नतिजा निकाल्दै समूह विजेता बन्नु हुनेछ । मात्र एक अंकले उसलाई समूह विजेताको रुपमा अन्तिम ८ मा पुर्राउनेछ । एपीएफ यसअघिनै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
यस्तै छ अंक तालिका
झापा ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । संकटा ३ अंक सहित दोस्रो स्थानमा रहदाँ समान अंक भएको च्यासल तेस्रो स्थानमा छ । एपीएफ अंक विहिन अवस्थामा छ ।