काठमाडौं । राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी शिव श्रेष्ठले घरेलु फुटबलमा पुनरागमन गरेका छन् । पछिल्ला बर्ष बैदेशिक रोजगारीको शिलशिलामा बिदेशिएका शिव पुन घरेलु फुटबलमा फर्किएका हुन् । अखिल नेपाल फुटबल संघ एन्फा एकेडेमीका उत्पादन समेत रहेका शिवले उमेर समुह हुँदै राष्ट्रिय टिमबाट खेलेका थिए ।
एन्फाभित्र आन्तरिक किचलो सुरु भएर घरेलु लिग रोकिएपछि धेरै खेलाडी विदेशिएका थिए । जसमा राष्ट्रिय टिमका भरपर्दा मिडफिल्डर मानिएका शिव समेत एक थिए । उनीले राष्ट्रिय टिमका साथै घरेलु फुटबलको लोकप्रिय क्लब मनाङ मर्स्याङ्दीबाट लामो समय फुटबल खेलेका खेलाडी हुन् ।
एन्फा एकेडेमीको तेस्रो ब्याचका खेलाडी शिवले यु–१३, यु–१४, यु–१६, यु–१९ र यु–२३ बाट समेत खेलेका छन् । उनले पोखरामा भएको भुटानविरुद्वको मैत्रिपुर्ण खेलबाट राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।
अन्तिम समय उनले विश्वकप २०१८ को छनोट अन्तर्गत ईस्ट टिमोर र जोर्डनविरुद्व नेपाली टिमबाट खेलेका थिए ।
मनाङसंग चार महिनाको अनुबन्धन
विदेशबाट फर्किएका शिवले भर्खरै मनाङ मस्र्याङ्दी क्लबसंग अनुबन्धन सम्झौता गरेका छन् । उनले मनाङसंग चार महिनाका लागि सम्झौता गरेका हुन् । मनाङले अर्को महिनाको पहिलो हप्ताबाटै एएफसी कपको पहिलो खेल खेल्दैछ । क्लबले एएफसी कपसम्मका लागि मिडफिल्डर शिवसंग चार महिनाको सम्झौता गरेको हो । सम्झौता रकमको बिषय दुवै पक्षले खुलाउन मानेनन् ।
एन्फाबाट रिलिज हुने बित्तिकै शिव घरेलु घरेलु फुटबलको लोकिप्रिय क्लब मनाङसंग अनुबन्धन भएका थिए । सन् २००८ मा मनाङबाट ब्यवसायीक फुटबल सुरु गरेका उनले सन् २०१५ सम्म निरन्तरता क्लबबाट फुटबल खेलेका थिए । शिवले मनाङ बाहेक अन्य क्लबबाट शीर्ष डिभिजनको लिग खेलेका छैनन् ।
अनुबन्धनपछि खेलपाटीसंग कुरा गर्दै शिवले फुटबलमा फर्कन पाउदाँ आफु निकै खुसी भएको प्रतिक्रिया दिए ।
‘मन परेको क्षेत्रमा फेरी आएको छु । विभिन्न कारणले विदेशिन परेको थियो । नियमित लिग भएको भए विदेशिन पर्दैन थियो होला । फुटबल विस्तारै राम्रो हुँदै गएको देखेरै क्लबसंग जोडिएको हुँ ।’ उनले खेलपाटीसंग भने ।
उनले विश्वास गरेर क्लबले आफुलाई पुन अनुबन्धन गरेकोमा खुसी ब्यक्त गरे ।
‘मनाङ सानै देखि मन परेको क्लब हो । एन्फाबाट निस्किएपछि मनाङसंग जोडिन पाईयो । लामो समय खेलेपछि मनाङनै परिवार जस्तो बन्यो ।’ उनले भने, ‘क्लबले विश्वास गरेर पुन अनुबन्धन गरेको छ । आफुलाई पुरानै लयमा ल्याउन मेहनत गर्नेछु ।’