काठमाडौं । बहुचर्चित टी-ट्वान्टी फ्रेन्चाईज लिग इण्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करणको दोस्रो दिन आज (आइतबार) दुई खेल हुँदैछ ।
आइतबार पहिलो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरवाद तथा दोसो खेलमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले मुम्बईसंग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । दुवै टोली लिगमा सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
स्क्वाड हेर्ने हो भने दुवै टोली निकै बलियो देखिएको छ । मुम्बईको टोलीमा अनुभवी हार्ड हिटरको तथा दिल्लीमा युवा हार्ड हिटरको बाहुल्यता रहेको छ । बलिङमा भने केहि हदमा दिल्ली नै अगाडी रहेको देखिन्छ । दुवै टोलीसंग ब्याक अप खेलाडी पनि उत्कृष्ट रहेका छन् ।
दिल्ली अहिलेसम्म फाइनल पुग्न नसकेको एक मात्र टिम हो भने मुम्बई सफल टिम मध्येको एक । सन् २०१२ पछि दिल्ली प्ले अफ पुग्न सकेको छैन । मुम्बईले ३ पटक उपाधि उचालेको छ ।
हेड टु हेड
मुम्बई र दिल्ली हालसम्म २२ पटक आमने सामने भएका छन् । दुवै टोलीले समान ११/११ पटक जित हात पारेका छन् । तर, पछिल्लो ५ खेलको नतिजा हेर्ने हो भने मुम्बईमाथी दिल्ली हाबी रहेको छ ।
पछिल्लो पाँच भेटमा दिल्लीले ४ पटक मुम्बईलाई पराजित गरेको छ । त, अन्तिम पटक दिल्लीलाई हराउँदा भने मुम्बईले इतिहाँस रचेको थियो ।
सन् २०१७ मा भएको खेलमा दिल्लीलाई १४६ रनको फराकिलो अन्तरले पराजित गर्दा आईपीएल इतिहाँस कै फराकिलो जित दर्ता गराएको थियो । गत बर्ष दिल्लीले जित निकाल्दा मुम्बई चौथो पटक प्ले अफ पुग्नबाट बन्चित भएको थियो ।
मुम्बईका प्रमुख खेलाडी
मुम्बईले तीन बिधाकै उत्कृष्ट खेलाडी कप्तान रोहित शर्मा, हार्दिक पाण्ड्या र जस्प्रित बुम्रालाई यस सिजन रिटेन गरेको छ । रोहितको कप्तानीको प्रसंसा विश्व भर हुने गरेको छ भने उनको ब्याटिङ निकै कलात्मक रहेको छ ।
जस्प्रित मुम्बईको प्रमुख बलर हुन् । उनले गत सिजन १७ विकेट हात पारेका थिए । पहिले मुम्बईको लागि जुन योगदान लासित मालिंगाले दिने गरेका थिए अहिले बुम्राले पुरा गर्दै आएका छन् । उनि विपक्षी टिमका लागि सुरुवाती र अन्तिम ओभरहरुमा घातक बलिङ गर्ने गर्छन ।
अलराउण्डर पाण्ड्याले गत सिजन आफ्नो आईपीएल करिअर कै उत्कृष्ट पारि खेलेका थिए । ब्याटिङतर्फ २६० रन जोडेका उनले १८ विकेट समेत हात पारेका थिए । उनि एक उत्कृष्ट फिल्डर समेत हुन् ।
दिल्लीका प्रमुख खेलाडी
अघिल्ला सिजनहरु सनराइजर्स हैदरावादबाट आक्रामक ब्याटिङ गर्ने शिखर धावन यो बर्ष दिल्लीका लागि ब्याट घुमाउने छन् । यस्तै युवा खेलाडी पृथ्वी शाह र ऋषब पन्त पनि ब्याटिङमा मुख्य भूमिका खेल्ने छन् ।
तीब्र बलिङतर्फ विश्वका उत्कृष्ट बलर ट्रेन्ट बोल्ट र कागीसो रबाडा रहेका छन् । बल नचाउने छन् नेपाली स्पिनर सन्दीपले ।
गत सिजनको आईपीएलबाट नै टी-ट्वान्टीमा डेब्यु गरेका १८ बर्षे सन्दीपले विश्वभरको टी-ट्वान्टीमा आफ्नो जादु देखाइसकेका छन् ।
सन्दीपले गत बर्ष मुम्बईविरुद्ध ३ विकेट हात पार्दै उत्कृष्ट प्रदर्शन गर्दा दिल्लीलाई जित दिलाउन ठुलो योगदान गरेका थिए ।
यस सिजन सन्दीप दिल्लीको पहिलो खेलबाटै मैदान उत्रने सम्भावना रहेको छ ।