काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान निरु थापाले साफ च्याम्पियनसिपको उपाधि भिडन्तमा नतिजा ल्याउन नसकेको माफी मागेकी छिन् । शनिबार समाजिक सञ्जालमार्फत कप्तान निरुले दर्शक तथा खेलप्रेमी प्रति आभार प्रकट गर्दै आगामी दिनमा सुखद नतिजा ल्याउन कोशिश गर्ने बताएकी हुन् ।
उनले भनेकी छिन्, ‘आगामी आउने दिनमा हजुरहरुले गर्नुभएको आशा, विश्वास, अनि अनगिन्ती मायालाई खुसीमा बदल्न सक्ने कोशिश अझैपनि गर्नेछौ र हजुरहरुको मुहारमा हाँसो ल्याउने प्रयास सधै गर्ने छौ ।’
उनले टिममा रहेर साथ दिने प्रशिक्षक, सदस्य र खेलाडीमा समेत धन्यवाद दिएकी छिन् । उनकै नेतृत्वमा नेपालले पाँचौ संस्करणको साफ च्याम्पियनसिप विराटनगरमा खेलेको थियो ।
उपाधिबाट बिमुख भएपछि निरुले रुदै दर्शकतर्फ अभिवादन गर्दै मैदानको परिश्रमा गरेकी थिईन् । नेपालले साफ च्याम्पियनसिपको उपाधि भिडन्तमा भारतसंग पराजय व्यहोरेको थियो ।
खेल लगत्तै मुख्य प्रशिक्षक हरी खड्काले सबै खेलकुद प्रेमी दर्शकसंग माफी माग्दै पराजयको सम्पुर्ण जिम्मेवारी आफुले लिने बताएका थिए ।