काठमाडौं । गोल्डेन गेट कलेज क्रिकेट लिग (सिसिएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आइतबारबाट सुरु हुने भएको छ ।
आयोजक युनिभर्सिटी क्रिकेट क्लबले प्रेस विज्ञप्ति निकाल्दै तेस्रो संस्करणको प्रतियोगिता आइतबारबाट सुरु भई चैत १७ गते समापन हुने जानकारी दिएको छ ।
किर्तिपुरस्थित टियु मैदानमा ८ दिन चल्ने प्रतियोगितामा १२ कलेजहरुको सहभागिता रहने छ । सहभागि कलेजहरुलाई चार समूहमा बिभाजन गरेर राउण्ड रोबिन लिगको आधारमा खेलाईने छन् । प्रत्येक समूहको शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको समूह 'ए' मा अर्चिड इन्टरनेशनल कलेज, कान्तिपुर सिटि कलेज (केसीसी) र ट्रिटन इन्टरनेशनल कलेज रहेका छन् । समूह 'बी' मा काठमाडौं युनिभर्सिटी, नेपाल बन कलेज र त्रि चन्द्र क्याम्पस रहेका छन् ।
यस्तै समूह 'सी' मा नेपाल कमर्स क्याम्पस, हिमालय कलेज र शंकर देव क्याम्पस समूह 'डी' मा गोल्डेन गेट इन्टरनेशनल कलेज, त्रिभुव बिश्वबिद्यालय र ओमेगा इन्टरनेशनल कलेज रहेका छन् ।
प्रतियोगिताको बिजेताले २ लाख २२ हजार २ सय २२ र उपबिजेताले १ लाख ११ हजार १ सय ११ रुपैया पुरस्कारपाउने आयोजकले जनाएको छ । यस्तै म्यान अफ दि सिरिजले २५ हजार र प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान र बलरले १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले एक्सटेपको प्रयोजनमा ५ हजार बराबरको जुत्ता प्राप्त गर्नेछन् ।
प्रतियोगितामा राष्ट्रिय खेलाडीहरुले समेत खेल्न पाउने छन् । आयोजकले सबै कलेजले आफ्नो टोलीमा जति पनि राष्ट्रिय खेलाडी समावेश गर्न अनुमति दिएको युनिभर्सिटी क्रिकेट क्लबका अध्यक्ष सुमन राज कार्कीले बताए ।
प्रतियोगिताको उद्घाटन खेलमा अर्चिडले केसीसीको सामना गर्नेछ । यस्तै दोस्रो खेलमा काठमाडौं युनिभर्सिटीले नेपाल बन कलेजबिरुद्ध खेल्नेछ ।