एजेन्सी । श्रीलंकाका बलर तथा कप्तान लाथिस मालिंगाले सन् २०२० को टी-ट्वान्टी विश्वकपपछि अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
दक्षिण अफ्रिकाको भ्रमणमा रहेका मलिंगाले घरेलु टोलीसंगको पहिलो खेलपछि सन्यास घोषणा गरेका हुन् । शुक्रबार राति भएको पहिलो टी-ट्वान्टीमा श्रीलंका घरेलु टोलीसंग १६ रनले पराजित भएको थियो ।
'विश्वकपपछि मेरो खेल जीवन समाप्त हुँदैछ । म टी-ट्वान्टी विश्वकप खेल्दै आफ्नो खेल जीवन टुङ्गाउन चाहान्छु,' ३५ बर्षीय मालिंगाले सन्यासबारे भने ।
सिमित ओभरमा श्रीलंकाका कप्तान रहेका मालिंगा छुटै एक्सन भएका दाँया हाते तिब्र गतिका बलर हुन् । उनले सन् २००४ बाट श्रीलंकाको टिममा डेब्यु गरेका थिए ।
कर्ली कपाल भएका मालिंगाले श्रीलंकालाई सन् २०१४ को टी-ट्वान्टी विश्वकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसको ६ बर्षपछि मालिंगाले आफ्नो अन्तराष्ट्रिय खेल जीवन अन्त्य गर्ने निर्णय गरेका छन् ।
मलिंगाले सन् २००७ को विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ४ बलमा ४ विकेट हात पार्दै रेकर्ड बनाएका थिए ।
श्रीलंकाका लागि मलिंगा ७२ टी-ट्वान्टी खेल खेल्दै ९७ विकेट हात पार्न सफल भईसकेका छन् । मलिंगाले सन् २०१० बाट टेष्ट क्रिकेट खेलेका छैनन् ।
पछिल्लो समय मालिंगा चोटका कारण समस्यामा पर्दै आएका छन् ।
मलिंगा यस सिजन मुम्बई इण्डियनबाट (आईपीएल) खेल्दैछन् । तर, दक्षिण अफ्रीकाको टिममा रहेको कारण मलिंगाले सुरुवाती ६ खेल गुमाउने छन् । मलिंगा आईपीएलमा सबै भन्दा धेरै विकेट लिने खेलाडी समेत हुन् ।