काठमाडौँ । बहुचर्चित टी-ट्वान्टी फ्रेन्चाईज क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण आज (शनिबार) बाट सुरु हुँदैछ ।
प्रतियोगिताको उद्घाटन खेलमा साबिकको विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्दैछन् ।
चेन्नईको घरेलु मैदानमा हुने उद्घाटन खेलमा दुवै टोली उत्कृष्ट खेलाडी खेलाउँदै सुखद सुरुवात गर्न चाहान्छन् । चेन्नईका कप्तान महेन्द्र सिंह धोनी गत बर्षको प्रदर्शनलाई निरन्तरता दिने योजनामा हुनेछन् ।
चेन्नई ३ पटकको च्याम्पियन टोली हो । चेन्नईको टिम निकै सन्तुलित देखिएको छ । अनुभवी खेलाडीहरुको बाहुल्यता देखिएको चेन्नईमा १-२ जना खेलाडी बाहेक सबै उत्कृष्ट लयमा छन् ।
चेन्नईमा अम्बाती रायडु र शेन वाट्सननले ओपनिङ गर्नेछन् भने सुरेश रैना, महेन्द्र सिंह धोनी, केदार जाधब, ड्वेन ब्राभो जस्ता खेलाडीले मध्यक्रम सम्हाल्ने छन् । त्यसैले चेन्नईले पहिले ब्याटिङ गरेमा १७० रन भन्दा बढी बनाउन सक्ने अनुमान गर्न सकिन्छ ।
बैंगलोरका कप्तान विराट कोहली गत सिजनको खराब नतिजालाई सुधार ल्याउने प्रयासमा हुनेछन् । अघिल्लो संस्करणमा बैंगलोर छैठौं स्थानमा रहँदै प्रतियोगिताको प्ले अफ पुग्नबाट बन्चित भएको थियो ।
विश्वका नामी खेलाडीको साथ पाएको बैंगलोरले हालसम्म उपाधि उचाल्न सकेको छैन । बैंगलोरको बलियो पक्ष भनेको ब्याटिङ रहेको छ । उसको खेलाडीमा ठुलो स्कोर खडा गर्न सक्ने क्षमता रहेको छ । तर, मुख्य समस्या भनेको बैंगलोर सुरुवाती ब्याट्सम्यान (ओपनर) मा देखिन्छ । पार्थिब पटेल र विराट कोहली वा पार्थिब पटेल र मोइन अलीले ओपनिङ गर्नेमा निश्चित छैन ।
बैंगलोरको मध्येक्रममा भने समस्या देखिएको छैन । एबी डी भिलियर्स, सिम्रन हिटमाएर जस्ता खेलाडी रहेको हुँदा बैंगलोरले १८० रन भन्दा बढी बनाउन सक्ने अनुमान लगाउन सकिन्छ ।
हेड टु हेड :
पछिल्लो ६ खेलको नतिजा हेर्ने हो भने बैंगलोरमाथि चेन्नई हाबी देखिन्छ । उक्त खेलहरुमा चेन्नईले फराकिलो जित हात पार्दै आएको छ । सन् २०१४ मा राँचीमा भएको खेलमा चेन्नईलाई पराजित गरे देखी बैंगलोरले चेन्नईमाथि जित निकाल्न सकेको छैन ।
सम्भावित प्लेईङ -११
चेन्नई - अम्बाती रायडु, शेन वाट्सन, सुरेश रैना, महेन्द्र सिंह धोनी, स्याम बिल्लिङ्ग्स, केदार जाधब, ड्वेन ब्राभो, रबिन्द्र जडेजा, दिपक चहार, इमरान ताहिर, मोहित शर्मा ।
बैंगलोर - पार्थिव पटेल,मोइन अली, विराट कोहली, एबी डी भिलियर्स, सिम्रन हिटमाएर, सिभम डुवे, वासिङ्टन सुन्दर, टिम साउथी, उमेश यादव, युजभेन्द्र चाहाल, मोहमद सिराज ।