काठमाडौं । कतारमा जारी एएफसी यू-२३ च्याम्पियनसिप छनोटको पहिलो खेलमा पराजित भएपनि नेपाली टोलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले टोलीको प्रदर्शनबाट खुसी रहेको बताएका छन् ।
शुक्रबार राति भएको खेलमा नेपाल ओमानसंग १-० गोल अन्तरले पराजित भएको थियो । खेलपछि बोल्दै प्रशिक्षक महर्जनले माथिल्लो स्तरको टोलीसंग खेलाडीले गरेको प्रदर्शनमा सन्तुष्ट रहेको बताए ।
'ओमानजस्तो धेरै नै माथिल्लो स्तरको टिमविरुद्ध मेरा खेलाडीले गरेको प्रदर्शनबाट म धेरै सन्तुष्ट छु,' खेलपछि महर्जनले भने, 'हामीले सुधार गर्नुपर्ने धेरै कुराहरु छन् ।'
कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा युसुफ नासिर अल माल्कीको निर्णायक गोलबाट ओमानले जित निकालेको थियो ।
फिफा वरियतामा ७१ औं स्थान माथि रहेको ओमानविरुद्ध नेपाली टोली सबै पक्षमा कमजोर देखिएको थियो । फिफा वरियतामा नेपाल १ सय ६१ औं स्थानमा छ । ओमान ९० औं स्थानमा रहेको छ ।
तर, प्रशिक्षक महर्जनले टोलीले रणनीति अनुसार नै खेलेको बताए ।
'हाम्रो रक्षापंक्तिले राम्रो खेल्न सक्यो । हेमन्त तेस्रो मिनेटमै चोटग्रस्त हुनुले मिडफिल्डमा सन्तुलन मिलाउन कठिन भयो,' महर्जनले भने, 'हामीले रक्षात्मक र काउन्टर एट्याकको रणनीति लिएका थियौं । त्यसमा हामी आंशिक सफल भयौं ।'
यस्तै महर्जनले कतारसंग हाम्रो रणनीतिका साथ मैदान उत्रने बताए ।
'अर्को खेल कतारसँग छ । त्यो झनै कठिन टिम हो । एसियन च्याम्पियनसँग पनि हाम्रो रणनीति उही हुनेछ र हामी हाम्रो शतप्रतिशत दिने प्रयास गर्नेछौं,' महर्जनले थपे ।
नेपालले आइतबार आयोजक कतारसंग खेल्ने छ । यस्तै अन्तिम खेलमा नेपालले मार्च २६ मा अफगानिस्तानसंग खेल्नेछ ।