एजेन्सी । पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ८ विकेटले हराएको छ ।
युएईको सारजाहमा पाकिस्तानले दिएको २८१ रनको लक्ष्य अष्ट्रेलियाले ४९ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाको जितमा कप्तान आरोन फिन्चले शतकीय इनिङ्स खेले । फिन्चले ११६ रनको योगदान दिए ।
यस्तै शौन मार्शले अविजित ९० रन जोड्दा पिटर ह्यान्ड्सकम्बले अविजित ३० रन बनाए । उस्मान खाव्ज्वाले २४ रन जोडे । पाकिस्तानका मोहमद अब्बास र फाहिम अस्राफले १/१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै ५० ओभरमा ५ विकेट गुमाएर २८० रन जोडेको थियो । पाकिस्तानका लागि हरिस सोहेलले अविजित रहदै १०१ रनको शतकीय इनिङस खेले । यस्तै उमार अकमलले ४८ तथा सान मसोदले ४० रन बनाए । अष्ट्रेलियाका कल्टर नीलले २ विकेट लिए ।
यो जितसंगै अष्ट्रेलियाले पाँच खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।