एजेन्सी । इंग्ल्यान्डले युरोकप छनोटमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले चेक रिपब्लिकलाई ५-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रलिङले ह्याट्रिक गरे । यस्तै कप्तान ह्यारी केनले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । चेक रिपब्लिकका थोमस कलासले आत्मघाती गोल गरेका थिए ।
खेलको २४ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा कप्तान केनले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको अग्रता २-० को बनाए ।
खेलको ६२ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै इंग्ल्यान्डको अग्रता ३-० को बनाए । लगत्तै ६८ औं मिनेटमा स्ट्रलिङले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दा इंग्ल्यान्ड ४-० ले अघि रह्यो । त्यसपछि खेलको ८४ औं मिनेटमा कलासले आत्मघाती गोल गर्दा इंग्ल्यान्ड ५-० गोलले विजयी भयो ।
जितसंगै छनोटको समूह 'ए' को इंग्ल्यान्डले ३ अंक जोडेको छ । र, समूह 'ए' को शीर्ष स्थानमा छ ।
यसै समूह अन्तर्गत अर्को खेलमा मोन्टेङ्ग्रोले बुल्गेरियासंग १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।