काठमाडौं । प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई बिभागीय टोलीहरु त्रिभुवन आर्मी र एपीएफ क्लव आमने सामने हुँदैछन् ।
राष्ट्रिय खेलाडी बिनोद भण्डारीको कप्तानीमा रहेको आर्मी र राष्ट्रिय टोलीका भेट्रान बलर बसन्त रेग्मीको नेतृत्वको एपीएफबीचको फाइनल खेल टियू मैदान कीर्तिपुरमा भोली बिहान ९ बजेदेखि सुरु हुनेछ ।
राष्ट्रिय खेलकुद परिषदको अयाोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी प्रतियोगिताको एकमात्र अपराजित टोली हो । युवा खेलाडीहरुको बर्चश्व रहेको आर्मी ब्याटिङ, बलिङ र फिल्डिङमा सन्तुलित देखिन्छ ।
यता एपीएफले पनि उत्कृष्ट व्यटिङ गर्दै आएको छ । यद्यपी यस प्रतियोगितामा एपीएफको बलिङ आर्मीको तुलनामा प्रभावकारी बन्न सकेको छैन । समूह चरणमा आर्मीले एपीएफलाई पराजित गरेको थियो । आर्मीले एपीएफलाई ७० रनले पराजित गरेको थियो ।
सेमिफाइनलमा आर्मीले प्रदेश नम्बर ५ र एपीएफले नेपाल पुलिसलाई हराउँदै फाइनल भिडन्त पक्का गरेका थिए । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा ७ प्रदेश र ३ बिभागीय गरी १० टोलीको सहभागिता छ ।