विराटनगर । धेरैको अपेक्षा थियो, घरेलु मैदानमा आयोजित साफ च्याम्पियनसिप नेपालले जित्नेछ । समुह चरण र सेमिफाईनलमा खेलाडीको प्रर्दशनले धेरैले आश गरेका थिए ।
भारतीय महिला टिम अहिले पुस्तान्तरणको अवस्थामा छ । पुराना खेलाडी बाहिरिने र नयाँ खेलाडी भित्रिएको अवस्थामा भारत छ । तीनै नयाँ तथा युवा खेलाडीले प्रतियोगिताकै दाबेदार मानिएको नेपाललाई ३–१ ले हराउँदै लगातार पाँचौ पटक साफको च्याम्पियन बन्न सफल रह्यो ।
उपाधिको दाबी गरिएको नेपाल कहाँनेर चुक्यो । फुटबल विश्लेषक सञ्जिव मिश्रसंग हामीले नेपाली टिमको हारको पाँच कारण सोधेका छौ ।
१. पहिलो हाफको खेललाई निरन्तरता दिन नसक्नु हारको पहिलो कारण हो ।
२. खेलाडीको फिटनेसमा समस्या देखियो । दोश्रो हाफमा भारतको प्रदर्शनको अगाडी नेपाली खेलाडी थकित थिए । नेपाली खेलाडीमा प्रेसर म्याच खेल्ने स्तर नपुगेको देखिन्थ्यो ।
३. सावित्रा भण्डारी भारतीय डिफेन्डरको मार्किङमा परिन् । भारतीय दुई डिफेन्डरले उनलाई कडा निगरानीमा राखे । नेपालको मुख्य खेलाडी मार्किङमा राखेपछि अन्य खेलाडी सक्रिय देखिनु पर्दथ्यो तर त्यो देखिएन ।
४. समयमा खेलाडी परिवर्तन हुन नसक्नु अर्को कारण रह्यो । जस्तै सावित्रालाई मार्किङमा परेको अवस्थामा राम्रो खेलिरहेकी निरु थापालाई परिवर्तन गरियो । त्यहाँ अनिता बस्नेत र दिपा राईले खेल्न नसकेको देखिएको थियो ।
५. दोश्रो हाफमा मिडफिल्डका खेलाडी एकदमै कमजोर देखिए । त्यस अवस्थामा भारतीय खेलाडी हाबी हुने मौका पाए । मिडफिल्डका खेलाडीले भारतीय खेलाडीलाई रोक्न नसक्दा डिफेन्स मात्र थेग्न गाह्रो भएको हो ।
अन्तिममा प्रशिक्षक हरी खड्काको गेम प्लानिङ सहि थियो त ?
फाईनलमा नेपाल भन्दा भारत दबाबमा थियो । नेपालले कुनै भारतीय खेलाडीलाई मार्किङनै गरेन । तर भारतले साबित्रामा कडा निगरानी राखेको थियो ।
हामीले आफ्नो खेल मात्र खेल्न खोज्यौ । तर उनीहरु हामीलाई रोक्दै आफ्नो खेललाई निरन्तरता दिए । हामीले खेलाडीलाई स्वतन्त्र खेल्न दियौ । हामीले समेत उनीहरुको मुख्य खेलाडीलाई मार्किङ गर्न आवश्यक थियो तर त्यसैमा चुक्न पुग्यो ।
खेल अबधिभर भारतीय खेलाडी स्विटी देबीले साबित्रालाई छाडेन । जबकी सावित्रा हाम्रो मुख्य खेलाडी थिईन् । तर हामीले उनीहरुको फरवार्डलाई स्वतन्त्र खेल्न दियौ ।