विराटनगर । प्रदेश नम्बर १ सरकारले घरेलु मैदानमा सम्पन्न पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली टोलीका प्रत्येक सदस्यलाई १/१ लाख दिने भएको छ ।
विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको फाइनलमा नेपाल भारतसंग ३-१ गोल अन्तरले पराजित हुँदै उपविजेता बनेको थियो ।
यसअघि प्रदेश १ सरकारले उपाधि जिते नेपाली टोलीलाई २/२ लाख दिने जनाएको थियो । तर, फाइनलमा पराजित भएपछि नेपाली टोलीले जनही १/१ लाख पाउने भएको हो ।
यस्तै विराटनगर महानगरपालिकाले उपविजेता बनेको नेपाली टोलीलाई जनही ५०/५० हजार नगद पुरस्कार दिने जनाएको छ ।
त्यस्तै अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोलीलाई हाइड्रोको शेयर दिने घोषणा गरेको छ ।
एन्फा अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले नेपाली टोलीलाई त्रिशुली जलविद्युत कम्पनी लिमीटेडको शेयर दिन प्रतिबद्दता जनाएका छन् ।