विराटनगर । नेपाल महिला साफ च्याम्पियनसिपमा फेरी उपविजेतामै सिमित बनेको छ । घरेलु मैदानमा भएको पाँचौ संस्करणमा समेत नेपालले फाईनलमा पराजय भोग्यो ।
लामो तयारी र लयबद्व प्रर्दशनले नेपाली टिम फाईनलमा हाबी हुने अपेक्षा गरिएको थियो । तर व्यक्तिगत रुपमा उत्कृष्ट खेलाडी भएपनि त्यसलाई टिममा परिवर्तन गर्न मुख्य प्रशिक्षक हरी खड्का असफल रहे ।
टिम गेमको उत्कृष्ट नमुना प्रस्तुत गर्दै भारतले फाईनलमा ३–१ को जित निकाल्यो ।
विराटनगरको सहिद रंगशालामा भारतको जितमा डालिमा चिपर, ग्रेस डाङ्मयी र अन्जु तामाङले गोल गरे । नेपालकी सावित्रा भण्डारीले एक गोल फर्काईन् ।
घरेलु मैदानमा सुरुवातमा भारतमाथि दबाब बनाएको नेपालले सोही लयलाई कायम राख्न सकेन ।
नेपालले चौथो पटक समेत फाईनलमा भारतको दबाब तोड्न सकेन । पहिलो, दोस्रो, तेस्रो र पाँचौ संस्करणको उपाधि भिडन्तमा नेपाली टिम फाईनलमा भारतको सिकार बन्यो ।
चौथो संस्करणमा नेपाल सेमिफाईनलमा भारतसंगै पराजित बनेको थियो ।