विराटनगर । भारतले दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता साफको उपाधि जितेको छ । शुक्रबार भएको खेलमा नेपाललाई ३–१ गोल अन्तरले पराजित गर्दै भारत लगातार पाँचौ पटक साफको च्याम्पियन भएको हो ।
विराटनगरको सहिद रंगशालामा भारतको जितमा डालिमा छिपर, ग्रेस डाङ्मयी र अन्जु तामाङले गोल गरे । नेपालकी सावित्रा भण्डारीले एक गोल फर्काईन् ।
घरेलु मैदानमा सुरुवातमा भारतमाथि दबाब बनाएको नेपालले सोही लयलाई कायम राख्न सकेन ।
खेलको २६ औ मिनेटमा डालिमा चिपरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् । उनले ३० यार्ड टाढाबाट हानेको प्रहारलाई गोलकिपर एन्जिला तुम्बाप्पोले बचाउन सकिनन् ।
लगत्तै नेपाल सावित्रा भण्डारीको गोलमार्फत खेलमा फर्किएको थियो । खेलको ३३ औ मिनेटमा सावित्राले हेडमार्फत गोल गरेकी थिईन् ।
पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा लय बिगार्यो ।
६३ औ मिनेटमा भारतकी ग्रेस डाङ्मेयीले गोल गर्दै भारतलाई पुन २–१ को अग्रता दिलाईन् ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी अन्जु तामाङले ७८ औ मिनेटमा गोल गर्दै नेपालको उपाधि सम्भावना यसपटक समेत टारिदिइन् ।
नेपालले चौथो पटक समेत फाईनलमा भारतको दबाब तोड्न सकेन । पहिलो, दोस्रो, तेस्रो र पाँचौ संस्करणको उपाधि भिडन्तमा नेपाली टिम फाईनलमा भारतको सिकार बनेकाे हाे ।