एजेन्सी । भारतका पुर्व क्रिकेटर गौतम गम्भीर राजनीतिमा प्रवेश गरेका छन् । पुर्व ओपनर ब्याट्सम्यान गम्भीर भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन् ।
आसन्न लोक सभाको निर्वाचनमा चुनाव लड्ने योजनासहित गम्भीर राजनीतिमा लागेको भारतीय मिडियाले जनाएको छ ।
गम्भीरलाई शुक्रबार भाजपाका वरिष्ठ नेता अरुण जेट्ली र रविशंकर प्रसादले पार्टी प्रवेश गराएका छन् ।
भारतबाट दुई पटक विश्वकप जितिसकेका गम्भीरले सबैखाले क्रिकेटबाट सन्यास लिईसकेका छन् ।
भारतबाट ५८ टेष्ट र १४७ एकदिवसीय खेलेका गम्भीर भारतले सन् २००७ र २०११ को विश्वकप जित्दा मुख्य खेलाडी रहेका थिए ।
गम्भीरले देशका लागि केहि गर्न राजनीतिमा लागेको बताए ।
'म हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीको भिजनबाट निकै प्रभावित छु । मैले अहिलेसम्म क्रिकेटको मैदानमा मात्र योगदान दिएको छु अब म देशको लागि योगदान दिन चाहान्छु,' पार्टी प्रवेशपछि गम्भीरले भने ।
सन् २००३ मा अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका गम्भीरले आईपीएलमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबाट कप्तानी गरेका थिए । उनले सन् २०१२ र २०१४ को सिजन कोलकातालाई आईपीएलको उपाधि दिलाएका थिए ।
गम्भीर हालै भारत सरकारबाट पदमा श्री अवार्डबाट सम्मानित भएका थिए ।