काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आफुले गरेको मेहेनतले नै सफलता हात पारेको बताएका छन् ।
इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न भारत पुगेका सन्दीपले दि फ्यान ग्यारेज अनलाइनसंग कुरा गर्दै ठुला कुरालाई साधारण रुपमा लिनु र मेहनत नै सफलताको मुख्य राज रहेको बताए ।
'जब म नेपालमा हुन्छु, कहिलेकाँही प्रतिस्पर्धात्मक खेल खेल्नका लागि धेरै मेहनत गर्नु पर्छ । तर, जब म यस्तो लिगहरुमा मौका पाउँछु, म सबै कुरा सामान्य रुपमा लिंदै मैले धेरै मेहनत गर्छु किनकि मैले यस्तो सुबिधा नेपालमा पाउँदिन,' सन्दीपले भनेका छन्, 'त्यसैले जब मैले आईपीएल जस्ता ठुला लिगहरुमा मौका पाउँदा मैले आफ्नो खेलमा मात्र ध्यान दिंदै आफुले सक्दो राम्रो प्रदर्शन गर्न कोसिस गर्छु ।'
यस सिजन सन्दीपले दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्दैछन् । सन्दीप रहेको दिल्लीले २४ मार्चमा मुम्बईको ईण्डियन्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । सन्दीप यतिबेला दिल्लीको टिमसंगै विशेष तयारीमा छन् ।
सन्दीपले आफु शेन वार्नको ठुलो प्रसंशक रहेको बताउदै अष्ट्रेलिया लिजेन्ड्सको उदाहरण बन्न चाहेको बताए ।
'म सधैं शेन वार्नलाई पछ्याउछु र उहाँलाई आफ्नो आइडल मान्छु । मेरो सौभाग्य भनौं, आईपीएलले हामीलाई भेट गरायो । अघिल्लो बर्ष मैले उहाँलाई भेट्ने मौका पाएको थिए र उहाँले मलाई मेरो बलिङमा सुधार गर्न केहि टिप्स दिनु भएको थियो,' सन्दीपले भने, 'जसले गर्दा मैले आफ्नो बलिङमा धेरै फड्को मार्न सफल भएको छु । जस्तो परिस्थितिमा बलिङ गर्दा पनि आफ्नो मुटु विशाल र दह्रो गरेर बल फाल्नु पर्छ । म सधै सम्झन्छु उहाँले मलाई दिएको यो टिप्स र यसमा म विश्वास पनि गर्छु ।'
सन्दीपले टेष्ट नखेल्ने राष्ट्रहरुको लागि आईपीएल एक राम्रो प्लाटफर्म रहेको उल्लेख गरे ।
'सन् २०१८ को आईपीएल मेरो जीवन र करियर भरि सधैं खास रहने नै छ र म विश्वास गर्छु कि टेष्ट नखेल्ने देशका खेलाडीका लागि आईपीएल एक प्लाटफर्म हो ।' सन्दीपले भनेका छन् ।
यस्तै सन्दीपले आफुलाई आईपीएल सँधै खास लाग्ने बताए । 'गत सिजनको आईपीएल मेरो लागि निकै खास रहेको छ किनकि उक्त सिजनबाट नै मैले विश्वभरका ठुला ठुला लिगहरुमा खेल्ने मौका पाएको थिए,' सन्दीपले थपे ।
त्यस्तै सन्दीपले दिल्लीमा वेष्ट इण्डिजका पुर्व स्टार स्पिनिर स्यामुअल बद्रिको निगरानीमा खेल्न पाउदा खुसि लागेको बताए ।
सन्दीपले भने, 'अब हामीसंग स्यामुअल बद्रि पनि हुनुहुन्छ जो वेष्ट इण्डिजका टप लेग स्पिनर रही सक्नु भएको छ र म उहाँको निगरानीमा खेल्न कोसिस गरिरहेको छु ।'
३८ बर्षे लेग स्पिनर बद्रि यस बर्ष दिल्लीको स्पिन बलिङ कोचको भूमिका निर्वाह गर्दैछन् ।