एजेन्सी । ब्राजिलियन फरवार्ड रिचार्लीसनले आगामी दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्टार स्ट्राइकर नेयमारको अभाव महसुस हुने बताएका छन् ।
ब्राजिलले शनिबार पानामा र त्यसको तीन दिनपछि चेक रिपब्लिकविरुद्धको मैत्रीपूर्ण खेल खेल्दै छ । उक्त खेलका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमार रहने छैनन् ।
‘मलाई लाग्छ नेयमारलाई धेरै सम्झिने छौं । उनी एक महान् खेलाडी हुन् ।’ एभर्टनका स्ट्राइकर रिचार्लीसनले भने ।
नेयमार चोटका कारण पछिल्लो समय मैदान बाहिर रहेका छन् । जसको कारण ब्राजिलियन टोलीमा नेयमार अटाएका छैनन् ।
तर, रिचार्लीसनले टिममा नेयमारको अभाव खड्कने भएपनि टोलीले उच्च प्रदर्शन गर्ने बताए ।
‘म तयार छु । सबैजनालाई आफ्नो जिम्मेवारी थाहा छ,' रिचार्लीसनले भने, 'मेरो विचारमा म खेले भने मैले राम्रो गरेर राष्ट्रिय टिमलाई जिताउन सक्छु ।’
यस्तै रिचार्लीसनले नेयमारसंग कठिन खेललाई सजिलो बनाउन सक्ने क्षमता रहेको बताए ।
‘पक्कै पनि नेयमारले कठिन खेललाई सजिलो बनाउछन् । हामी उनलाई याद गर्छाै । तर, उनको अनुपस्थितिमा हामी यहाँ पुरा गर्नेछौँ ।’