एजेन्सी । ९८७६६८, हेर्दा लाग्छ यो कुनै फोन नम्बर हो । वास्तबमा यो कुनै फोन नम्बर नभई दिल्ली क्यापिटल्स (डेयरडेभिल्स) को पछिल्लो इण्डियन प्रिमियर लिग (आईपीएल) को लिग चरणमा रहेको स्थान हो ।
सन् २०१२ देखि दिल्लीले प्ले अफमा स्थान बनाउन सकेको छैन । आईपीएलको स्थापनामा सुखद सुरुवात गरेको दिल्लीले सुरुका २ सिजन सेमीफाइनलमा पुग्न सफल भएको थियो ।
तर, दिल्ली मात्र एक टिम हो जो अहिलेसम्म आईपीएलको फाइनल पुगेको छैन । किन त ?
सुरुवाती सिजनमा एबी डि भिलियर्स, बिरेन्द्र सेहवाग, डेभिड वार्नर जस्ता खेलाडी रहेको दिल्लीले पछिल्लो समय खेलाडी छनोटमा गल्ती गर्दै आएको देखिन्छ ।
सन् २०१६ को आईपीएलमा १६ करोड भारुमा भित्र्याएको युवराज सिंहले निकै खराब प्रदर्शन गरेका थिए । उनले प्रतियोगिता भर २५० रन भन्दा कम रन बनाएका थिए । यस्ता थुप्रै उदाहरणहरु दिल्लीसंग जोडिएको छ ।
पछिल्लो बर्ष दिल्लीले गरेको निर्णय हेर्दा अक्सनको बेला दिल्ली निकै हतासिने र गलत बोली लगाउने गरेको देखिन्छ ।विश्लेषकहरु त्यसै भन्छन् ।
यस सिजन भने दिल्लीले आफ्नो नाम मात्रै नभएर भाग्य र सोच पनि बदलेको देखिन्छ । तर, दिल्लीसंग अझै मुख्य भूमिका खेल्ने कप्तानको अभाब रहेको देखिन्छ । भनिन्छ, क्रिकेटमा खेलाडीको प्रदर्शन भन्दा पनि कप्तानको कप्तानीमा भर पर्छ ।
विश्वका उत्कृष्ट तीब्र गतिका बलर ट्रेन्ट बोल्ट र कागीसो राबडा, उत्कृष्ट अलराउण्डर क्रिस मोरिस जस्ता हस्तीहरुलाई भारतका युवा खेलाडीले कप्तानी गर्न सक्छन् ? अहिले प्रश्न उठ्ने गरेको छ ।
भारतीय युवा खेलाडी श्रेएस आयर निकै प्रतिभावान खेलाडी हुन भन्नेमा दुबिधा छैन तर उनले ठुला खेलाडीको कप्तानी भूमिका निर्वाह गर्न कठिन छ । किनकि कप्तानी भूमिकाका लागि अनुभव पक्कै चाहिन्छ ।
जब कि क्रिकेटका विश्लेषकहरुले महेन्द्र सिंह धोनी बिना विराट कोहलीले भारतको कप्तानी गर्न निकै मुस्किल हुने बताउदै आएका छन् ।
जर्सी र नाम परिवर्तन गर्दैमा टिमको प्रदर्शनमा फरकता नआउने विश्लेषकहरुको भनाई छ । दिल्लीले अहिलेसम्म ३ पटक नाम परिवर्तन गरिसकेको छ ।
डेकन चार्जर्सबाट दिल्ली डेयरडेभिल्स हुँदै अहिले दिल्ली क्यापिटल्स भएको छ ।
यस सिजन भने आईपीएलमा दिल्लीको समर्थकहरुले कम्तिमा पनि प्ले अफमा पुग्ने आशा गरेका छन् । खेलमा असम्भव भन्ने त केहि हुँदैन तर, दिल्लीले समर्थकहरुलाई खुसी हुने मौका प्रदान गर्छन या गर्दैनन् ? हेर्न बाँकी रहेको छ ।