एजेन्सी । इडेन हाजार्ड चम्किएपछि बेल्जियमले युरोकप छनोटमा विजयी सुरुवात गरेको छ । छनोट अन्तर्गत बिहिबार राति भएको पहिलो खेलमा बेल्जियमले रुसलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
बेल्जियमको जितमा इडेन हाजार्डले दुई गोल गरे । यस्तै युरी टिलेमान्सले एक गोल गरे । रुसका डेनिस चेरीसोभले एक गोल फर्काए ।
खेलमा बेल्जियमले युरीको गोलबाट १४ औं मिनेटमा अग्रता बनाएको थियो । तर, खेलको १६ औं मिनेटमा बेल्जियमका किपर कोर्टुवाको गल्तिमा रुसका चेरीसोभले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
खेलको ४५ औं मिनेटमा हाजार्डले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८८ औं मिनेटमा हाजार्डले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३-१ को जित दिलाए ।
खेलको ९० औं मिनेटमा एलेक्जेन्डर गोलोभिनले रातो कार्ड पाएपछि रुस अन्तिम समय १० खेलाडीमा समेटिएको थियो ।
जितसंगै छनोटको समूह 'आई' मा रहेको बेल्जियमले ३ अंक जोडेको छ । रुसले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
यस्तै समूहको अन्य खेलमा साइप्रसले स्कटल्याण्डलाई ३-० ले पराजित गर्दा काजकिस्तानले सान मारियोलाई ५-० ले हराएको छ ।