सर्लाही । तेस्रो संस्करणको राजश्री जनक कप फुटबल चैत अन्तिम साताबाट सुरु हुने भएको छ । आयोजक मेरो मनको ज्योति बागमती युवा क्लबले प्रतियोगिता चैत २५ गतेबाट सुरु हुने जनाएको छ ।
प्रतियोगितामा 'ए' डिभिजन क्लबसहित भुटानी टिम र आयोजकका दुई टिमले सहभागिता जनाउने छन् । यसपटक आयोजकले १२ टिमलाई सहभागी गराउन लागेको आयोजक क्लबका अध्यक्ष किस्मत राज मैनालीले खेलपाटीलाई बताए ।
‘हामीले यसपटक आयोजकको दुई टिम सहित १२ टिम सहभागीता जनाउने निर्णय लिएका छौँ,' अध्यक्ष मैनालीले भने ।
आयोजकले यस पटक पुरस्कार राशिमा समेत बृद्धि गरेको छ । अध्यक्ष मैनालीको अनुसार विजेताले १० लाख पाउने छ । उपविजेता टिमले ५ लाख पाउने छ । गत वर्षको विजेता टिमले ५ लाख प्राप्त गरेको थियो ।
आयोजकले विधागत तर्फका पाचँ उत्कृष्ट खेलाडीलाई जनही २० हजार पाउने बताएको छ । प्रतियोगिताको उदयमान खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ ।
प्रतियोगितामा साबिकको विजेता सुदूरपश्चिम-११र, उपविजेता त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, झापा ११, ड्रक स्टार भुटान, सहारा क्लब पोखरा, हिमालयन शर्पा क्लब, विरगंज युनाइटेड, थ्रीस्टार क्लब र संकटा क्लबले सहभागीता जनाउने छन् ।
प्रतियोगिताको आयोजक बागमती नगरपालिका रहेको छ भने सहआयोजकमा सर्लाही जिल्ला फुटबल संघ रहेको छ ।