काठमाडौं । भारतको बहुचर्चित टी-ट्वान्टी क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण मार्च २३ बाट सुरु हुँदैछ ।
नजिकिदै गरेको आईपीएल नेपाली क्रिकेट प्रेमीहरुको लागि समेत विशेष रहने छ । किनकी आईपीएलमा लगातार दोस्रो सिजन नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो जादु देखाउने छन् ।
सन्दीपले यस सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्दैछन् । गत बर्ष २० लाख भारुमा अनुबन्ध भएका सन्दीपलाई दिल्लीले यस सिजनको लागि रिटेन गरेको थियो ।
नेपालका ग्लोबल आइकन सन्दीपले आईपीएलमा ३ खेलमा ५ विकेट लिएका छन् । अघिल्लो सिजन सुरुवाती खेल खेल्न नपाएका सन्दीपले खेलेका पछिल्लो तीनै खेलमा प्रभावशाली प्रदर्शन भने गरेका थिए । जसको कारण सन्दीपले त्यसपछि विश्वका धेरै फ्रेन्चचाइज टी-ट्वान्टी लिगमा पाइला चाल्न सफल भएका थिए ।
सन्दीप रहेको दिल्लीले २४ मार्चमा मुम्बईको ईण्डियन्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । र, सन्दीपले सुरुका खेल खेल्ने प्रवल सम्भावना रहेको छ ।
किनकि, डेब्यु सिजनमा मुम्बईविरुद्ध उच्च प्रदर्शन गर्दै सन्दीपको ३ विकेट लिएका थिए । यस्तै दिल्लीका केहि प्रमुख विदेशी खेलाडीहरु अन्तराष्ट्रिय खेलहरुमा व्यस्त रहेका छन् ।
आईपीएलको एक खेलमा बढीमा ४ जना विदेशी खेलाडीहरु खेलाउन पाउने प्रावधान रहेको छ । दिल्लीका मुख्य विदेशी खेलाडी दक्षिण अफ्रिकाका क्रिस मोरिस र कागीसो राबडा श्रीलंकाविरुद्धको टी-ट्वान्टी सिरिजमा रहेका कारण सुरुका केहि खेल गुमाउने निश्चित छ ।
यस्तो अवस्थामा दिल्लीका लागि एक अलराउण्डर र एक बलरको आवश्यक हुन्छ । त्यसैले सन्दीपले उक्त स्थानमा मौका पाउने छन् । उक्ति खेलमा सन्दीपले आफ्नो लय कायम राख्न सके बाँकीको खेलमा पनि मैदान उत्रन मौका पाउने छन् ।
सन्दीपको टिम दिल्लीका अन्य विदेशी खेलाडीहरु ट्रेन्ट बोल्ट, स्रेफाने रुथ्फोर्ड, केमो पौल, कोलिन मुन्रो र कोलिन इन्ग्राम भने पुरै आईपीएल भर रहने छन् ।