एजेन्सी । 'क्रिकेटमा ऐतिहासिक क्षण, आफु निश्चित नभएपछि अम्पायर क्रिल मिचेलले तेस्रो अम्पायरसंग सहयोग मागेका छन् । जो टेलिभिजनको सहयोगबाट निर्णय बताउने छन् । जुन क्रिकेट इतिहासमा पहिलो पटक हो,' दक्षिण अफ्रिकाका जोण्टी रोड्सले डेब्यु खेलमा रन आउटको प्रयास गर्दा कमेन्टेटरले बोलेका थिए ।
विश्व क्रिकेट इतिहासमा पहिलो पटक तेस्रो अम्पायरको सहयोगबाट आउट हुने खेलाडी थिए-क्रिकेटका महान हस्ती सचिन तेन्दुलकर ।
त्यहिँबाट प्रविधिले खेलाडीको लागि मात्र नभई खेल प्रशंसकलाई पनि खेलप्रतिको दृष्टिकोण परिवर्तन गरिदियो ।
२१ औं सताब्धिसम्म आईपुग्दा डिसिजन रिभ्यु सिस्टम (डिआरएस) ले खेलाडीलाई मैदानमा रहेको अम्पायरलाई विभिन्न परिस्थितिमा चुनौती दिन सक्ने भएको छ ।
डिआरएस प्रविधि ३ प्रकारको रहेको छ । स्निकोमीटर, हट स्पट र हक आई ।
स्निकोमीटर सन् १९९० ताका कम्प्युटर वैज्ञानिक अलन प्लस्केटले निर्माण गरेका थिए । स्निकोमीटर एक माइक्रो आवाजमा आधारित प्रविधि हो । जसमा ध्वनि तरंगहरुको परिमाणमा भिन्नताले अम्पायरलाई बलले ब्याटमा छोएको छ कि छैन पत्ता लगाउन मद्दत गर्दछ ।
हट स्पटले इन्फ्रारेड प्रणालीबाट ब्याट्सम्यानको ब्याट वा प्याडलाई छोएको हो भन्ने निर्धारण गर्दछ । यसले कुनै सानो भन्दा सानो भाग लागेको छ भने पनि उक्त स्थानमा मैदानको तापक्रम अनुसार बलले छोएको स्थानमा सेतो दाग देखाउने हुँदा अम्पायरलाई सजिलै निर्णय लिन मद्दत गर्दछ ।
हक आई एक यस्तो प्रविधि हो जसले बल ठोकिएको स्थान ट्र्याक गर्दै अब बल कता जान लागेको थियो भन्ने सम्भावित मार्गको देखाउँदछ । डा. पाउल हकिङ्ग्सद्वारा निर्मित यो प्रविधि पहिले टेनिस, रग्बी, ब्याडमिन्टन र भलिबलमा प्रयोग गरिएको थियो । पछि यसलाई एलबिडब्लुको निर्णय लिन क्रिकेटमा पनि भित्राइएको हो ।
अम्पायर खेलमा अभिभावक जसरि खेल समयभर निगरानी राख्ने गर्दछन् । जसले खेलमा सभ्य र आधारभूत निर्णयको सम्मान खेलाडीले गर्छन । तर, डिआरएसले प्रारम्भिक रूपमा आलोचकहरूको सामना गर्नुपरेको थियो ।
तथापि, कहिले काँही अम्पायरद्वारा हुने मानव त्रुटिहरूले महत्त्वपूर्ण खेलको परिणामलाई असर पारेको थियो । त्यसपछि एक सामान्य सहमति भयो कि प्रविधिको कुनै पनि सहयोगले सहि निर्णय गर्ने सम्भावना बढी हुन्छ र यो डिआरएस अम्पायरको लागि सहयोगी हातको रुपमा काम गर्ने छ ।
तर, डिआरएस अझै पनि विवादहरुको भागेदार बनिरहेको छ । अहिले त विभिन्न प्रविधिहरु क्रिकेटमा भित्रिएको छ । जस्तै, स्टम्प माइक जुन अम्पायरको लागि निकै महत्वपूर्ण रहेको छ । जसबाट कुनै ब्याट्को भागमा बल लागेको या नलागेको भन्ने पत्ता लगाउन काम लाग्छ । समर्थकहरुको हल्ला भएको बेला समेत यो उपयोगी हुन्छ ।
प्रविधिको सहयोग बढ्दै जाँदा क्रिकेट समर्थक पनि बढिरहेको तथ्यांकले देखाउछ । अझ, डिआरएस टेलिभिजनमा प्रसारण गर्दा झनै सुन्दर देखिने गर्दछ ।
विभिन्न किसिममा र धेरै क्यामेराको प्रयोगले पनि घरमा बसेर खेल हेर्ने दर्शकमा वृद्धि भएको छ । कुनै बेला सिमित क्यामेरा बाट खिचेको खेल हेर्नु पर्ने हुँदा क्रिकेट समर्थकहरु लोप हुँदै गएका थिए । अहिले प्रयोग हुने विभिन्न प्रकारका क्यामेरा जस्तै स्पाइडर क्यामेरा, अम्पायर क्यामेरा, स्टम्प क्यामेरा आदिले गर्दा खेलमा छुटै आनन्द लिन सकेका छन् ।
स्टम्पमा प्रयोग हुने माइकले त खेलाडीले बोलीको कुरा सुनिने हुँदा खेल हेर्न निकै रमाइलो हुने गर्दछ । साथै खेल प्रत्क्षय प्रसारण गर्न प्रयोग गरिने विभिन्न क्यामेराले खेलाडीले गरेको अनैतिक तथा नियम विपरित क्रियाकलापहरु प्रष्ट देखिने हुँदा खेल निस्पक्ष हुने गर्दछ ।