विराटनगर । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले क्लिन सिटसहित महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जित्ने बताएकी छिन् ।
घरेलु भूमिमा जारी पाँचौ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा श्रीलंकालाई पराजित गरेपछि खेलपाटीसंग कुरा गर्दै गोलरक्षक एन्जिलाले क्लिन सिट लिंदै फाइनल जित्ने बताइन् ।
‘समूह चरण र सेमिफाइनल तीनै खेलमा गोल खाएको छैन । फाइनलमा पनि गोल नखाई उपाधि हात पार्न चाहन्छु ।’ एन्जिलाले भनिन् ।
बुधबार बिहान भएको सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४–० ले पराजित गरेको थियो । नेपालको जितमा पुनम जर्घा मगर, अनिता बस्नेत, रेखा पौडेल र सावित्रा भण्डारीले एक एक गोल गरेकी थिईन् ।
श्रीलंकाविरुद्धको जितसँगै नेपाल चौंथो पटक साफको फाइनलमा प्रवेश गरेको हो । सन् २०१६ मा भारतमा भएको साफमा भने नेपाल सेमिफानलबाटै बाहिरिएको थियो ।
यस्तै एन्जिलाले नेपालले फाइनल जित्नेमा आफु विश्वस्त रहेको बताइन् ।
‘राम्रो भईरहेको छ । सबैले राम्रो खेलिरहेका छन् । घरमै भएको प्रतियोगिता जित्नेछौ।’ उनले सुनाइन् ।
नेपालले शुक्रबार फाइनलमा भारतसंग प्रतिस्पर्धा गर्नेछ । भारतले बंगलादेशलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपालसंगको भेट पक्का गरेको हो ।