विराटनगर । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जित्ने बताएका छन् ।
विराटनगरको सहिद रंगशालामा नेपालले शुक्रबार उपाधिका लागि चार पटकको विजेता भारतसंग खेल्दैछ ।
साफमा भारत बलियो भएपनि प्रशिक्षक खड्काले भारतलाई हराएर उपाधि जित्ने दाबी गरे ।
'हामीले भारतसंग अघिल्ला दुई खेलमा एक जित र एक बराबरी खेलेका छौं,' फाइनल अघि बोल्दै प्रशिक्षक खड्काले भने, 'भोली हाम्रो दिन हो । पक्कै पनि हामी जित्ने छौं ।'
उनले नेपाली खेलाडीहरुको प्रदर्शन दैनिक सुधार आएको कारण भारतसंग झुकेर नखेल्ने समेत बताए ।
यस्तै कप्तान निरु थापाले प्रशिक्षकले दिएको रणनीति अनुसार खेल्दै घरेलु मैदानमा उपाधि जित्ने बताईन् ।
सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४–० ले पराजित गरेको थियो । नेपाल चौंथो पटक साफको फाइनलमा प्रवेश गरेको हो । भारतले बंगलादेशलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपालसंगको भेट पक्का गरेको थियो ।