काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज (बिहिबार) कुवेतसंग प्रतिस्पर्धा गर्दैछ ।
दुई मैत्रीपुर्ण खेल खेल्ने कुवेत पुगेको नेपाली टोलीले बिहिबार पहिलो खेल खेल्न लागेको हो । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार बेलुका ९:१५ बजे सुरु हुनेछ ।
नेपाल पहिलो खेल जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतविरुद्ध जित निकाल्ने दाबी गरेका छन् ।
'हाम्रो लागि यो प्रतियोगिता निकै महत्वपुर्ण छ । नेपाली फुटबलले लामो यात्रा तय गर्न बाँकी छ,' मुख्य प्रशिक्षक कालिनले भने, 'त्यसका लागि कुवेतविरुद्धको खेल सुरुवात हो । जित्नका लागि हामी मैदानमा उत्रन्छौं ।'
हालै प्रशिक्षकको जिम्मेवारी पाएका कालिनको नेपालबाट यो पहिलो भ्रमण हो । र, कालिनका लागि यस मैत्रीपूर्ण खेल परिक्षाको रुपमा समेत हुनेछ ।
यस्तै मुख्य प्रशिक्षक कालिनले कुवेत नौलो टोली रहेको भएपनि जित निकाल्नेमा विश्वस्त रहेको बताए ।
'छोटो तयारीका बाबजुत राम्रो गर्नेमा विश्वस्त छौं । कुवेत हाम्रा लागि नौलो टिम हो,' प्रशिक्षक कालिनले भने ।
नेपाल र कुवेतबीच १९ बर्षपछि प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि नेपालले कुवेतसंग सन् २००० मा एएफसी एसिया कपमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ५-० ले पराजित भएको थियो । नेपाललाई उक्त हारको बदला लिने अवसर रहेको छ ।
त्यस्तै घरेलु टोली कुवेत पनि जित निकाल्ने लक्ष्यमा हुनेछ । कुवेतका मुख्य प्रशिक्षक रोमियो जोजाकले छोटो तयारी भएपनि नेपाललाई हराउने बताए ।
'धेरै तयारी गर्न पाएका छैनौ तर हामी नेपाललाई जित्ने विश्वासमा छौं । छोटो तयारीका बाबजुत हामीले आफ्नो प्रदर्शन गर्न सकेमा नतिजा अनुकुल आउने छ,' प्रशिक्षक जोजाकले भने ।
मलेसियासंगको मैत्रीपूर्ण खेल स्थगित भएसंगै नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाली टोलीले आगामी मंगलबार दोस्रो खेल खेल्नेछ ।
यस पटक नेपाली टोलीमा नयाँ खेलाडीको बाहुल्यता रहेको छ । राष्ट्रिय टोलीका ६ सदस्य यू-२३ टोलीमा रहेका कारण नयाँ खेलाडीले टोलीमा मौका पाएका छन् ।
नेपाली टोली :
गोलकिपर : किरण चेम्जोङ, विकेट कुथु र विशाल श्रेष्ठ
डिफेन्डर : रोहित चन्द, अजित भण्डारी, रवि सिलवाल, सुरज विश्वकर्मा, रञ्जित धिमाल , विराज महर्जन , सरोज दाहाल , देबेन्द्र तामाङ
मिडफिल्डर : रवि पासवान, टंक बस्नेत , सन्तोष तामाङ , बिक्रम लामा, बिशाल राई , हेमन गुरुङ , सुजल श्रेष्ठ
फरवार्ड : रन्जन विष्ट , सुमन लामा , भरत खवास , विमल राना , नवयुग श्रेष्ठ , आशिष लामा