एजेन्सी । इन्ग्लिश क्लब एभर्टनका स्ट्राइकर वायन रुनी अमेरिकाको उच्च डिभिजनको लिग मेजर लिग सकर (एमएलएस) क्लब डीसी युनाइटेडमा अनुबन्धित भएका छन् । डीसी युनाइटेडसंग रुनीले बिहिबार सम्झौता गरेका छन् ।
इंग्ल्यान्डका पुर्व कप्तान रुनीले डीसी युनाइटेडसंग साढे तीन बर्षको लागि सम्झौता गरेको हो । सम्झौतापछि रुनीले एमएलएसले आफ्नो करियरको उदेश्य पुरा हुने बताएका छन् । ३२ वर्षीय रुनीले भनेका छन्, 'यहाँ सफलता हात पार्न म निकै भोकाएका छु र म क्लबलाई शतप्रतिशत दिने छु । मेरो करियरको उदेश्य पुरा हुने हुँदा एमएलएस आए ।'
लामो समय म्यानचेस्टर युनाइटेडमा बिताएका रुनी गत सिजन बाल्यकालको क्लब एभर्टन गएका थिए । सन् २००४ मा म्यानचेस्टर युनाइटेड आएका रुनीले युनाइटेडबाट १३ सिजन खेल्दै ५ प्रिमियर लिग र एक च्याम्पियन्स लिग जितेका थिए ।
पछिल्लो समय युनाइटेडमा पर्न छाडेपछि रुनी एभर्टन गएका थिए । यो सिजन रुनीले एभर्टनबाट ११ गोल समेत गरेका थिए । एभर्टन पनि पहिलो रोजाईमा नपरेपछि रुनीले अमेरिकन लिग रोजेको बताईएको छ ।