विराटनगर । साफ च्याम्पियनसिप फुटबलमा भारत भन्दा नेपाल उपाधिको दाबेदार रहेको बंगलादेशी मुख्य प्रशिक्षक गोलम रब्बानी छोटोनले दाबी गरेका छन् ।
सेमिफाईनलमा भारतसंग ४–० ले खेल गुमाएपछि आयोजित पत्रकार सम्मलेनमा बंगलादेशी प्रशिक्षकले उपाधि भिडन्तमा भारत भन्दा नेपाल दाबेदार रहेको उल्लेख गरे ।
‘भारत भन्दा नेपाल उपाधिको दाबेदार हो ।’ पत्रकारको प्रश्नमा जवाफ दिदै मुख्य प्रशिक्षक छोटोनले भने, ‘नेपाल सबै पोजिसनमा उत्कृष्ट छ ।’
उनले नेपालका तीन खेलाडीको खुलेर प्रशंसा गरे । कप्तान निरु थापासंगै सावित्रा भण्डारी र अनु बस्नेत नेपाली टिमका मुख्य खेलाडी रहेको बताउँदै उनले घरेलु टोलीले उपाधि जित्ने सम्भावना रहेको प्रष्टाए ।
सुरुमा डिफेन्सको गल्तीमा गोल खान पुगेको उल्लेख गर्दै उनले सुरुवाती मिनेटमा आफ्नो टोलीले उत्कृष्ट देखेको दाबी गरे । भारत र नेपालले महिला फुटबलमा प्रगति गरिहेको उल्लेख गर्दै उनले बंगलादेशले प्रतियोगिताबाट धेरै कुरा सिकेको धारणा राखे ।
भारतीय टिमकी मुख्य प्रशिक्षक मायामोल रक्कीले बंगलादेशविरुद्व खेलाडीको प्रर्दशनबाट आफु सन्तुष्ट रहेको बताईन् ।
सुरुको मिनेटमा संघर्ष गर्न परेको बताउँदै उनले चाँडै गोल निस्किएपछि खेल सहज भएको प्रतिक्रिया दिईन् ।