काठमाडौं । भारतमा भ्रमणमा रहेको नेपाली यू-१९ क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा जित निकालेको छ । बुधबार भएको खेलमा नेपाली टोलीले भारतको आन्ध्र प्रदेशको यू-१९ टोलीलाई ६२ रनले पराजित गरेको छ ।
नेपालले दिएको २ सय ७७ रनको लक्ष्य पछ्याएको आन्ध्र प्रदेश ४१ ओभर १ बलमा अलआउट हुँदै २ सय १४ रनमा समेटियो ।
आन्ध्र प्रदेशका लागि हर्षबरदानले ४६ रन जोड्दा ताजस्वाईले ४३ रन जोडे । नेपालका लागि कुशल मल्लले ४ तथा कमल सिंह ऐरीले ३ विकेट लिए ।
यसअघि आन्ध्र प्रदेशविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा अलआउट हुँदै २ सय ७६ रन बनाएको थियो ।
खराब सुरुवात गरेको नेपालका लागि कप्तान रोहित कुमार पौडेल र सन्दीप जोराले अर्धशतकीय इनिङ्स खेले । नेपालका लागि रोहितले ७९ रन जोड्दा सन्दीपले ६९ रन बनाए । यस्तै कमल सिंह ऐरीले ४४ रनको योगदान दिए ।
आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि विशेष तयारी गर्न नेपाली यू-१९ क्रिकेट टोलीले भारतको आन्ध्र प्रदेशमा रहेका छन् ।
नेपालले अब आन्ध्र प्रदेशको यू-१९ टोलीसंग ३ अभ्यास खेल खेल्ने छ ।
अप्रिल दोस्रो साताबाट आयोजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
अप्रिल १० देखि २० सम्म हुने छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर,युएई,कुवेत र ओमन रहेका छन् । विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।