काठमाडौं । भारतमा भ्रमणमा रहेको यू-१९ नेपाली टोलीले पहिलो अभ्यास खेलमा आन्ध्र प्रदेशको यू-१९ टोलीलाई २ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आन्ध्र प्रदेशविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा अलआउट हुँदै २ सय ७६ रन बनायो ।
खराब सुरुवात गरेको नेपालका लागि कप्तान रोहित कुमार पौडेल र सन्दीप जोराले अर्धशतकीय इनिङ्स खेले । नेपालका लागि रोहितले ७९ रन जोड्दा सन्दीपले ६९ रन बनाए । यस्तै कमल सिंह ऐरीले ४४ रनको योगदान दिए ।
आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि विशेष तयारी गर्न नेपाली यू-१९ क्रिकेट टोलीले भारतको आन्ध्र प्रदेशमा रहेका छन् ।
नेपालले आन्ध्र प्रदेशको यू-१९ टोलीसंग ४ अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । नेपाली टोली रोहित पौडेलको कप्तानीमा भारत भ्रमणमा रहेको छ ।
अप्रिल दोस्रो साताबाट आयोजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
अप्रिल १० देखि २० सम्म हुने छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर,युएई,कुवेत र ओमन रहेका छन् । विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।