विराटनगर । दक्षिण एसियाली महिला फुटबलमा नेपाल र श्रीलंका कुनै नौला प्रतिद्वन्दी हैनन् । दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग र दक्षिण एसियाली फुटबल प्रतियोगिता साफमा दुवै टोली पटक–पटक भिडेका छन् ।
तर सबै भिडन्तमा नेपालले बाजी मारेको छ ।
सन् २०१० मा ढाकामा भएको सागमा नेपालले समुह चरणमा श्रीलंकालाई ८–० ले हराएको थियो ।
त्यसपछिको सन् २०१२ र २०१४ को साफमा नेपाले श्रीलंकालाई ३–० ले हराएको थियो ।
सन् २०१६ को सागमा नेपालले ४–० को जित निकालेको थियो ।
लगत्तै भारतमा भएको साफ फुटबलमा नेपालले १–० को संघर्षपुर्ण जित निकालेको थियो ।
बुधबार फेरी दुवै टोली छैटौ पटक मैदान उत्रदै छन्, पाँचौ संस्करणको साफ च्याम्पियसिप फाईनल प्रवेशका लागि ।
मुख्य कुरा, नेपाल विगतको नतिजालाई निरन्तरता दिन चाहन्छ । श्रीलंका अप्रत्यासित नतिजा सहित त्यसलाई क्रम भंग गर्ने प्रयास गर्नेछ ।
श्रीलंकाका प्रशिक्षक तिलक रोहण अल्पोन्सु निर्धारित समयमा बराबरीमा रोक्दै नेपाललाई पेनाल्टी सुटआउटमा पराजित गर्ने लक्ष्य लिएको बताउँछन् ।
यता, नेपाली टिमका मुख्य प्रशिक्षक हरी खड्काले श्रीलंकालाई पराजित गर्ने रणनीति तयार भएको बताउँदै आक्रमक फुटबल खेल्ने दोह¥याउँछन् ।