एजेन्सी । टेष्ट क्रिकेटमा प्रयोग हुने जर्सीमा नम्बर राखिने भएको छ । आईसीसीले टेष्ट च्याम्पियनसिप लिगबाट टेष्ट क्रिकेट जर्सीमा नम्बर राख्ने नयाँ प्रावधान लागु गर्ने तयारी गरेको छ ।
क्रिकेट अष्ट्रेलियाको अनुसार टेष्ट खेल्ने खेलाडीले अब जर्सी नम्बर राख्न पाउने प्रावधान पारित भएको र आगामी अगष्टदेखि हुने अष्ट्रेलिया र इंग्ल्यान्डबीच हुने एसेस सिरिजमा खेलाडीले नम्बर भएको जर्सी लगाउने जनाएको छ ।
क्रिकेट अष्ट्रेलियाले एसेस सिरिजमा खेलाडीले लगाउने जर्सीको छपाइको काम पनि तयारी अवस्थामा रहेको जनाएको छ ।
'यसले मलाई त खासै फरक पार्दैन । तर, मलाई लाग्छ यसले क्रिकेट समर्थकहरुलाई भने सजिलो हुनेछ ।' अष्ट्रेलियाका क्रिकेटर ट्राभेस हेडले भनेका छन् ।
हेडले टेष्ट क्रिकेटमा जर्सी नम्बर प्रयोग भए समर्थकलाई खेलाडी चिन्न निकै सहज हुने बताए ।
'शेफिल्ड शिल्ड क्रिकेटमा यसको सुरुवात भईसकेको छ । यसले समर्थकहरुलाई खेलाडी चिन्न मद्दत गर्छ अझ टेलिभिजनमा हेर्दा झनै सजिलो हुन्छ । हुन त अहिलेको जमानामा टेलिभिजनमा निकै राम्रो क्वालिटी र पूर्ण विवरण सहित देखाउने गरिएको छ त्यसैले मेरो लागि यसले त्यति महत्व राख्दैन,' हेडले भने, 'मलाई थाहा छ कि यो सबै दर्शकहरुको सहजका लागि गरिएको हो ।'
टेष्ट क्रिकेटको सुरुवात भएको १४२ बर्षपछि पहिलो पटक जर्सी नम्बर राखिने भएको हो । अहिले अष्ट्रेलिया र इंग्ल्याण्डका घरेलु प्रतियोगितामा नम्बर राख्ने चलन रहेको छ ।