विराटनगर । साफ च्याम्पियनसिपको पहिलो सेमिफाईनल खेलमा श्रीलंकाविरुद्व मैदान उत्रदै गर्दा नेपालले फाईनलमा नजर लगाएको हुनेछ । समुह चरणमा प्राप्त नतिजा र श्रीलंकाको प्रर्दशनले फाईनल पुग्ने नेपालको अपेक्षा हो ।
विराटनगरको सहिद रंगशालामा खेल बिहान ११ बजे सुरु हुनेछ ।
नेपाली टिमका मुख्य प्रशिक्षक हरी खड्काले श्रीलंकाविरुद्व खेल्न नेपाली टिम तयार भएको बताउँदै प्रतिद्वन्दीलाई कमजोर आँक्ने गल्ती आफुले नगर्ने बताउँछन् ।
‘प्रतिद्वन्दीलाई कमजोर मान्ने छैनौ । खेल हेर्दा हामी बलियो छौ । तर श्रीलंकालाई ईज्जत गरेर खेल्नेछौ । आफ्नो स्वभाविक खेल प्रर्दशन गर्नेछौ । अभ्यासमा सिकेको कुरालाई मैदानमा कार्यान्वयन गर्नेछौ ।’ खेलको अघिल्लो दिनको भेटमा उनले पत्रकारसंग भनेका थिए ।
‘डिफेन्समा जोड दिएर उसले काउन्टर आक्रमणको प्रयास गर्नेछ ।’ श्रीलंकाको खेल रणनीति बारे उनले भने, ‘श्रीलंकाको डिफेन्स लाईन तोड्ने बिषयमा खेलाडीलाई अभ्यास गराएको छु ।’
नेपालको आक्रमक खेललाई सेमिफाईनलमा समेत निरन्तरता दिने बताउँदै प्रशिक्षक खड्काले श्रीलंकाविरुद्व होसियार भएर प्रस्तुत हुने बताए ।
नेपालले समुह चरणको खेलमा भुटान र बंगलादेशलाई पराजित गरेको थियो ।
यता, समुह चरणमा माल्दिभ्सविरुद्व जित निकालेपनि भारतसंगको फराकिलो हारले श्रीलंका दबाबमा छ । सेमिफाईनलमा नेपालविरुद्व उत्रदै गर्दा श्रीलंकाले आफ्ना सबै कमजोरीलाई सच्चाउने प्रयास गर्नेछ ।
खेल अगाडी पत्रकारसंग कुरा गर्दै श्रीलंकाका प्रशिक्षक तिलक रोहण अल्पोन्सुले निर्धारित समयमा नेपाललाई रोक्दै फाईनल पुग्ने योजना गरेको बताए ।
‘सन् २०१६ को साफमा नेपाल र श्रीलंका अन्तिम पटक भिडेका थिए । दुवै टोलीको स्तर लगभग समान थियो । आत्मघातिको गोलले गर्दा खेल नेपालले जितेको थियो ।’ उनले भने, ‘नेपालको टिम सन्तुलित छन् । केही खेलाडी निकै राम्रा छन् । निरु, सावित्रा र गिता उत्कृष्ट देखिन्छन् ।’
नेपाली टिमको सम्भावना ।
नेपालले बंगलादेशविरुद्व खेलाएको टिललाईनै सेमिफाईनलमा उतार्ने सम्भावना बढी छ । आक्रमणमा सावित्रा भण्डारी र निरु थापाको जोडी लयमा देखिन्छ ।
मिडफिल्डमा मञ्जली योञ्जन र अनिता बस्नेत प्रभावशाली देखिएका छन् । मिडफिल्डकै रेनुका नगरकोटी र दिपा राई प्लेमेकरको रुपमा आफुलाई प्रमाणित गरिरहेका छन् ।
डिफेन्समा हिरा भुजेल र गिता राना उत्कृष्ट छन् । ओभरल्यापमा पुगेर बल निकाल्न हिरा सफल देखिएकी छिन् । पुनम जर्घामगर र मनमाया लिम्बुले समेत राम्रो डिफेन्सको नमुना प्रस्तुत गरेका छन् ।