काठमाडौं । नेपाल क्रिकेट संघ क्यानकी पुर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीको नेपाल प्रतिनिधिको जिम्मेवारी छाडेकी छिन् ।
क्यान निलम्बित भएपछि आईसीसीको नेपाल प्रतिनिधिको रुपमा काम गर्दै आएकी घिमिरे आईसीसीको जिम्मेवारी छाडेकी हुन् ।
‘निश्चित समयको लागि सोचेको थिए, तर समय लम्बियो । टिमलाई अघि बढाउन छाटो समय हेरेर पुग्दैन ।’ उनले भनिन्, ‘यसरी घरेलु क्रिकेटको काम गर्न सम्भव छैन । अब जवाफदेही तरिकाले काम गर्ने पुर्णकालिन ब्यक्ति आवश्यक छ । मैले नभ्याउने भएर छाडेका हुँ ।’
नेपाल क्रिकेट संघ निलम्बनमा परेपछि आईसीसीले भावना घिमिरेलाई नेपाल प्रतिनिधि भुमिका दिएको थियो । उनले नेपाली क्रिकेट टिमले खेल्ने अन्तराष्ट्रिय प्रतियोगिताको समन्वय गर्दै आएकी थिईन् ।
‘एक दिवसीय मान्यता पाएपछि नेपाली टिमको व्यस्तता बढेको छ । विभिन्न उमेर समुहका प्रतियोगिता समेत हेर्नुपर्ने हुन्छ । सोही कारण अब पुर्णकालिन रुपमा काम गर्ने व्यक्तिको आवश्यकता छ ।’ उनले थपिन् ।
गत महिना नेपालको महिला क्रिकेट टिमले थाईल्याण्डमा खेलेको विश्वकप छनोटनै भावनाले हेरेको अन्तिम प्रतियोगिता हो ।
आईसीसी छाडेपनि घिमिरेले एसीसीको उमेर समुहका अरु प्रतियोगिता हेर्ने बताईन् ।
‘तत्काल एसीसीको भ्रमणहरु हेर्छु । एसीसीको अन्डर १६ र अन्डर १९ को भ्रमण हेर्दैछु ।’ उनले भनिन्, ‘क्रिकेटको अरु बिषयमा मेरो सहयोग रहन्छ । तर आईसीसीको अपरेसनको काममा म हुने छैन ।’