काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ 'मातृभूमि कप' क्रिकेट आयोजना हुने भएको छ ।
धुर्मुस सुन्तली फाउण्डेशनले मंगलबार पत्रकार सम्मेलन गर्दै रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन राष्ट्रिय टोलीका खेलाडी सम्मलित दुई टोलीबीच 'मातृभूमि कप' क्रिकेट हुने जनाएको छ ।
मातृभूमि कपमा कप्तान पारस खड्काको कप्तानीमा र उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा दुई टोलीले खेल खेल्ने छन् ।
पारसको कप्तानीमा रहेको टोलीलाई नेपाल टिम 'ए' र ज्ञानेन्द्रको कप्तानीमा रहेको टोलीलाई नेपाल टिम 'बी' नाम दिईएको छ । खेल टियु क्रिकेट मैदान किर्तिपुरमा चैत २६ गते हुनेछ ।
कप्तान पारसको टोलीमा अनिल साह, शरद भेषावकर, ललित नारायण राजवंशी, सोमपाल कामी, अविनास बोहोरा, सन्दीप जोरा, रोहित कुमार पौडेल, सुनिल धमला, कमल सिंह ऐरी, आरिफ शेख र भुवन कार्की रहेका छन् ।
उपकप्तान ज्ञानेन्द्रको टोलीमा दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, बसन्त रेग्मी, करण केसी, ललित भण्डारी, भिम सार्की, पवन शर्राफ, विक्रम शोब, सुशन भारी, दिलिप नाथ र प्रदीप ऐरी रहेका छन् ।
यस्तै कलाकारहरुबीचको आर्टिस्ट 'ए' र आर्टिस्ट 'बी' बीच पनि खेल हुने आयोजकले जनाएको छ । जसमा 'ए' को कप्तानी मदनकृष्ण श्रेष्ठ र 'बी' को कप्तानी हरिवंश आचार्यले गर्ने छन् ।
प्रतियोगिताबाट उठेको रकम फाउण्डेशनले रंगशाला निर्माणमा खर्च गर्नेछ । खेलको टिकट मुल्य ३ सय र १ हजार राखिएको छ ।
हास्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउण्डेशनले निर्मण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनको भरतपुरमा निर्माण हुनेछ ।
रंगशाला भरतपुर महानगरपालिकाले उपलब्ध गराएको जग्गामा निर्माण गरिनेछ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण हुनेछ ।
डीपीआर तयार भएको २ वर्षभित्र निर्माण सम्पन्न हुने रंगशाला निर्माणको लागि ३ अर्ब लाग्ने बताईएको छ ।रंगशालाको डीपीआर ६ महिनाभित्र तयार हुनेछ ।