काठमाडौं । भारतको बहुचर्चित टी-ट्वान्टी क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण यहिँ मार्च २३ बाट सुरु हुँदैछ ।
नजिकिदै गरेको आईपीएल नेपाली क्रिकेट प्रेमीहरुको लागि समेत विशेष रहने छ । किनकी आईपीएलमा लगातार दोस्रो सिजन नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो जादु देखाउने छन् ।
सन्दीपले यस सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्दैछन् । गत बर्ष २० लाख भारुमा अनुबन्ध भएका सन्दीपलाई दिल्लीले यस सिजनको लागि रिटेन गरेको थियो ।
अघिल्लो सिजन मात्र ३ खेल खेलेका सन्दीपले यस सिजन टिममा कतिको महत्व पाउछन् त्यो भन्न सकिने अवस्था छैन । तर, विश्व चर्चित फ्रेन्चचाइज लिगमा उनले गरेको प्रदर्शनले सन्दीप दिल्लीको एक अभिन्न अंगको रुपमा रहने अनुमान गर्न सकिन्छ ।
तर, दिल्लीको प्लेईङ सेटमा पर्न सन्दीपले अर्का लेग स्पिनर अमित मिश्रालाई विस्थापित गर्नु पर्नेछ । जसको लागि सन्दीपले जादुमयी प्रदर्शन कायम राख्नुको विकल्प छैन ।
युवा स्टार सन्दीप चम्कदै स्पिनर हुन् । दिल्लीको टिमका सबैभन्दा कान्छा खेलाडी सन्दीप नै हुन् । यता, अमित दिल्लीको सबैभन्दा पाका खेलाडी हुन् । अमित ३६ बर्षका भए भने सन्दीप १८ बर्ष पुगेका छन् । त्यसैले दिल्लीको प्लेईङ सेटमा पर्न पाकाविरुद्ध युवा खेलाडीको प्रतिस्पर्धा रहने छ।
आईपीएलका निकै अनुभवी खेलाडी अमितले अहिलेसम्म १ सय ३६ खेलमा १ सय ४६ विकेट हात पारिसकेका छन् । अमित आईपीएलमा सर्वाधिक विकेट लिने खेलाडी सूचीको दोस्रो स्थानमा रहेका छन् । अमित भन्दा अघि श्रीलंकाका लाथिस मालिंगा रहेका छन् ।
नेपालका ग्लोबल आइकन सन्दीपले भने आईपीएलमा ५ विकेट लिएका छन् । डेब्यु सिजनको ३ खेलमा उच्च प्रदर्शन गर्दै सन्दीपले ५ विकेट लिएका थिए । अघिल्लो सिजन सुरुवाती खेल खेल्न नपाएका सन्दीपले खेलेका तीनै खेलमा प्रभावशाली प्रदर्शन भने गरेका थिए । जसको कारण सन्दीपले त्यसपछिका विश्वका धेरै फ्रेन्चचाइज टी-ट्वान्टी लिगमा पाइला चाल्न सफल भएका थिए ।
आईपीएलमा डेब्यु गरेपछिको एक बर्ष नबित्द्दै सन्दीपले धेरै लिगमा खेल्ने मौका पाए र उत्कृष्ट प्रदर्शन गरेका छन् । तर, सन्दीपका लागि अहिले मुख्य चुनौती भने अमित नै रहेका छन् । अघिल्लो सिजन उनै अमितका कारण सन्दीपले सुरुवाती खेल खेल्न पाएका थिएनन् । यस्तै चार विदेशी खेलाडी मात्र खेलाउन पाउने प्रावधान रहेको कारण सन्दीपलाई केहि कठिन हुनेछ ।
अमित भारतीय टोलीबाट बाहिर रहेको धेरै भईसकेको छ । अमित अहिले सेद मुस्ताक अली ट्रफी खेलीरहेका छन् । तर, यस सिजन अमित उत्कृष्ट लयमा देखिएका छैनन् । उक्त लिगमा अमितले ७ खेलमा मात्र ८ विकेट लिएका छन् । अमित विकेट लिने खेलाडीको सूचीमा पुछारबाट दोस्रोमा रहेका छन् ।
सन्दीपले भने आईपीएलमा डेब्यु गरेपछि फुर्सद पाएका छैनन् । आईपीएल पछि सन्दीपले क्यारेबियन प्रिमिएर लिग (सिपिएल), अष्ट्रेलियाको बिग बास लिग (बीबीएल), क्यानाडाको ग्लोबल टी-ट्वान्टी, अफगानिस्तान प्रिमियर लिग लिग, पाकिस्तान सुपर लिग र घरेलु प्रतियोगितामा विभिन्न टिमबाट आफ्नो प्रतिभा देखाईसकेका छन् । सन्दीपले ३६ टी-ट्वान्टी खेलमा ४५ विकेट हात पार्न सफल भईसकेका छन् ।
अमितको लय बाहिर रहदै गर्दा सन्दीप भने उत्कृष्ट लयमा रहेका छन् । त्यसैले यस सिजन अमितलाई पछि पार्दै सन्दीपले सुरुवाती प्लेईङ सेटमा बनाउने सम्भावना बलियो छ ।
यद्धपि सन्दीपलाई दिल्लीका अर्का खेलाडी अक्षर पटेलले चुनौती दिने छन् । गत सिजन किङस इलाभेन पन्जाबबाट खेलेका अक्षर यस सिजन दिल्ली आएका हुन् । देब्रे हाते स्पिन बलर अक्षर अलराउण्डर समेत हुन् । त्यसैले सन्दीपको कमजोर ब्याटिङको कारण अलराउण्डर अक्षरले चुनौती दिनेछन् ।
तर, ठुला लिगमा सन्दीपको लयले दिल्लीलाई राहत मिलेको छ । सुरुवाती खेलमा टिममा नपरे दिल्लीले सन्दीपलाई ब्याक अफको रुपमा भने राख्नेछ ।