विराटनगर । राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरी खड्काले श्रीलंकाविरुद्व राम्रो खेलेर फाईनल पुग्ने बताएका छन् । सेमिफाईनल खेल अगाडी मंगलबार सहिद रंगशालामा सञ्चारकर्मीसंग मुख्य प्रशिक्षक खड्काले धेरै गोल भन्दा आफु राम्रो खेलमा केन्द्रित हुने बताए ।
श्रीलंकाविरुद्वको खेलका लागि नेपाल शारिरिक र मानसिक रुपमा तयार रहेको बताउँदै उनले प्रतिद्वन्दीलाई कमजोर आँक्ने गल्ती आफुले नगर्ने बताए ।
‘प्रतिद्वन्दीलाई कमजोर मान्ने छैनौ । खेल हेर्दा हामी बलियो छौ । तर श्रीलंकालाई ईज्जत गरेर खेल्नेछौ । आफ्नो स्वभाविक खेल प्रर्दशन गर्नेछौ । अभ्यासमा सिकेको कुरालाई मैदानमा कार्यान्वयन गर्नेछौ ।’ उनले भने ।
श्रीलंकाको खेल बारे पुर्वानुमान गरेका प्रशिक्षक खड्काले टिमको परिवर्तन बारे भने बोल्न चाहेनन् ।
‘डिफेन्समा जोड दिएर उसले काउन्टर आक्रमणको प्रयास गर्नेछ ।’ उनले भने, ‘श्रीलंकाको डिफेन्स लाईन तोड्ने बिषयमा खेलाडीलाई अभ्यास गराएको छु ।’
‘खेलाडी परिवर्तन हुन पनि सक्छ, नहुन पनि सक्छ ।’ उनले थपे ।
नेपालको आक्रमक खेललाई सेमिफाईनलमा समेत निरन्तरता दिने बताउँदै प्रशिक्षक खड्काले श्रीलंकाविरुद्व होसियार भएर प्रस्तुत हुने बताए ।
त्यस्तै, नेपाली टिमकी कप्तान निरु थापाले श्रीलंका राम्रो टिम भएकाले आफुहरु मेहनत गरेर खेल्नुपर्ने बताईन् । ‘हाम्रो आक्रमण समेत राम्रो छ । डिफेन्स समेत उत्कृष्ट छ । मिडफिल्डले सहयोग गरेमा गोल गर्न सजिलो हुनेछ ।’ उनले थपिन् ।