नमीन ढकाल ।
इलाम । पाँचौ संस्करणको माईभ्याली गोल्डकपको उपाधिका लागि आज (बिहिबार) हिमालयन शेर्पा क्लब र क्यामरुनी टोली दाउफिन्स भिड्दैछन् । पहिलो पटक प्रतियोगितामा सहभागि भएका दुई टोली फाईनल पुगेका हुन् ।
खेल अघि दुवै टिमका प्रशिक्षकले उपाधिमा आफ्नो दाबेदारिता प्रस्तुत गरेका थिए ।
दाउफिन्सका टिम मेनेजर आशिक थापा मगरले खेलमा हार जितको स्थिति बराबर देखिएपनि शारिरिक रुपमा आफ्नो टोली हाबी हुने दाबी गरे । खेल मैदानका कारण अफ्रिकी मुलका खेलाडीलाई खुलेर खेल्न असहज भएको उनको भनाई छ ।
हिमालयन शेर्पाका प्रशिक्षक विजेन्द्र पुडासैनीले टिम स्प्रिट उच्च भएकाले जित निकाल्ने बताए । टिम पुरानै रणनीतिमा खेल्ने भएपनि मनोबल उच्च भएकाले बलियो दाफिन्समाथि दबाब सृजना गर्ने उनले बताए ।
मोफसलको पहिलो प्रतियोगिता खप्तड गोल्डकप खेल्न नेपाल आएको दाफिन्सले पछिल्लो दुई महिनाको अवधिमा ८ प्रतियोगिता खेल्दै ३ वटा उपाधि जितेको छ ।
दाउफिन्सका सिलो नाङ्गाले शेर्पाविरुद्वको फाईनल खेल गुमाउनेछन । दोहोरो पहेलो कार्डका कारण उनले फाईनल खेल गुमाउने भएका हुन् ।
नाङ्गाको स्थान ओको बोटाले लिने क्लब व्यवस्थापक थापाले बताए ।सहिद स्मारक लिगमा सातौँ स्थानमा रहेको शेर्पाले सिजनको दोस्रो मोफसलको प्रतियोगिताको फाईनल खेल्दैछ ।
दोश्रो संस्करणको बिशाल मेमोरियल गोल्डकपको फाईनल पुगेको शेर्पालाई त्रिभुवन आर्मीले सडनडेथमा स्तब्ध बनाएको थियो ।
लिगमा उत्कृष्ट खेल देखाउन नसकेका च्यासलका सुनिल खड्का हिमालय शेर्पाबाट इलाममा उत्कृष्ट प्रर्दशन गरेका छन् । उनले ३ खेलमा एक ह्याट्रिक सहित ४ गोल गर्दै सर्वाधिक गोलकर्ताको सुचिमा अग्रस्थानमा छन् ।
अघिल्ला संस्करणको माईभ्याली गोल्डकपको अनुभव बटुलेका निरज वस्नेत, गोलरक्षक किशोर गिरीको साथ सहित शेर्पा क्लब मैदानमा उत्रनेछ ।
२०७१ सालबाट आयोजना शुरु गरिएको माईभ्याली गोल्डकप पुर्वी पहाडी जिल्लाको सर्वाधिक लोकप्रिय प्रतियोगिता हो । प्रतियोगिताको विजेताले ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ ।