एजेन्सी । युईएफएले युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कारबाही गर्ने भएको छ । गोलको खुसीयाली मनाउने क्रममा अनुचित व्यवहार गरेको भन्दै युईएफएले रोनाल्डोलाई कारबाही गर्ने भएको हो ।
रोनाल्डोले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगको खेलमा एट्लेटिको मड्रिडविरुद्व ह्याट्रिक गरेपछि गोलको खुसीयाली मनाएका थिए ।
३४ बर्षका फरवार्डले एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनको नक्कल गरेका थिए । पहिलो लेगको खेलमा २–० को जित निकाल्ने क्रममा सिमोनले दर्शकतर्फ फर्केर खराब ब्यवहार प्रकट गरेका थिए ।
रोनाल्डोले युभेन्ट्सले ३–० ले जितेको दोस्रो लेगमा ह्याट्रिक पुरा गरिसकेपछि सोही नक्कल गरेका थिए । युईएफएले आगामी मार्च २१ मा रोनाल्डोको बिषयमा निर्णय गर्नेछ ।
युईएफएले सिमोनलाई २० हजार युरोको जरिवाना गरेको थियो ।
रोनाल्डोको युभेन्ट्सले क्वार्टरफाईनलको खेलमा डच क्लब अजाक्ससंग प्रतिस्पर्धा गर्दैछ ।