एजेन्सी । बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले आइतबार राति रियल बेटीसविरुद्धको खेलमा ह्याट्रिक गरे । ला लिगा अन्तर्गत बेटीसविरुद्ध उसैको मैदानमा ४-१ को जित निकाल्ने क्रममा मेस्सीले ह्याट्रिक गरेका थिए ।
बेटीसविरुद्धको ह्याट्रिकसंगै मेस्सीले ला लिगामा ३३ औं ह्याट्रिक पुरा गरे । र, मेस्सी रियल मड्रिडका पुर्व स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको कीर्तिमान नजिक पुगेका छन् ।
ला लिगामा रोनाल्डोले बनाएको सर्वाधिक ह्याट्रिकको कीर्तिमान बराबरी गर्न मेस्सी एक ह्याट्रिकले पछि परेका छन् । रोनाल्डोले ३४ ह्याट्रिक गर्दै ला लिगामा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।
हाल रोनाल्डो ला लिगा क्लब रियल छाडेर इटालियन क्लब युभेन्ट्स गईसकेका छन् । त्यसैले अब रोनाल्डोको ह्याट्रिक कीर्तिमान मेस्सीले तोड्ने सम्भावना देखिएको छ ।
मेस्सीले यो सिजन नै रोनाल्डोको कीर्तिमान भङ्ग गर्न सक्ने छन् । किनकि जारी सिजन मेस्सीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
ला लिगामा मेस्सीले यस सिजन २७ गोल गरिसकेका छन् । त्यसैले रोनाल्डोले क्लब छाडेसंगै मेस्सीले ह्याट्रिकको कीर्तिमान आफ्नो बनाउन सक्ने देखिएको छ ।
मेस्सीले आफ्नो करियरको भने ५१ औं ह्याट्रिक पुरा गरेका छन् ।