काठमाडौं । नेपालको पहिलो महिला फ्रेन्चाईज क्रिकेट लिग 'एनसीएल वुमन्स टी-ट्वान्टी क्रिकेट' लिगको विजेताले १० लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ ।
आयोजक एनसीएल स्पोर्टस प्रालीले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले १० लाख पाउने जानकारी गराएको हो । यस्तै उपविजेताले ५ लाख पाउने प्रालीका प्रबन्ध निर्देशक जयराज रायले जानकारी दिए ।
प्रतियोगिताको प्लेयर अफ दि म्याचले १० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समत पुरस्कार पाउने आयोजकले जनाएको छ ।
बैशाख दोस्रो साताबाट हुने पहिलो संकरणको प्रतियोगितामा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायोनेस, काठमाडौं सुपर च्याम्पियन र धनगढी वन्डर वुमनले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता विराटनगरको बैजनाथ क्रिकेट मैदानमा बैशाख ७ देखि १४ गतेसम्म हुनेछ । चैत १ गतेबाट हुने भनिएपनि यसै साता सुदुरपश्चिममा भएको मुख्यमन्त्री कप र प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुदका कारण प्रतियोगिता सारिएको आयोजकले जनाएको छ ।
यस्तै चार टोलीको मार्की खेलाडी समेत घोषणा गरिएको छ । भैरहवाको मार्की खेलाडी रुबिना क्षेत्री, विराटनगरका करुणा भण्डारी, धनगढीका सिता राना मगर र काठमाडौंको मार्की खेलाडी नेरी थापा रहेकी छिन् ।
प्रतियोगिताको लागि खेलाडी छनोट अक्सनबाट गरिने आयोजकले जनाएको छ । खेलाडीलाई तीन श्रेणीमा वर्गिकरण गरेर अक्सन गरिनेछ ।
पछिल्लो दुई बर्षयता राष्ट्रिय टिममा स्थान बनाएका खेलाडीलाई पहिलो श्रेणीमा राखिएको छ । दुई बर्षयता टिम बाहिर रहेका खेलाडीलाई दोस्रो श्रेणीमा राखिएको छ । क्षेत्रीय एवंम जिल्ला स्तरीय र क्लब स्तरका खेलाडीलाई तेस्रो अथवा सी श्रेणीमा समावेश गरिएको छ ।