काठमाडौं । नेपालको पहिलो महिला फ्रेन्चाईज क्रिकेट लिग 'एनसीएल वुमन्स टी-ट्वान्टी क्रिकेट' लिगमा सहभागी ४ टोलीको नाम र मार्की खेलाडीको घोषणा भएको छ ।
आयोजक एनसीएल स्पोर्टस प्रालीले सोमबार पत्रकार सम्मेलन गर्दै पहिलो संकरणको लिगमा सहभागी टोली र टोलीका मार्की खेलाडी सार्वजनिक गरेको हो ।
पहिलो संकरणमा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायन्स, काठमाडौं सुपर च्याम्पियन, धनगढी वन्डर वुमनले प्रतिस्पर्धा गर्ने छन् । भैरहवाको टिम मालिक अनिल भण्डारी र दिपक सुवेदी, विराटनगरको अनुप सक्सेना, धनगढीका हरि खनाल र काठमाडौं टिम मालिक रेखा थापा रहेकी छिन् ।
यस्तै चार टोलीको मार्की खेलाडी समेत घोषणा गरिएको छ । भैरहवाको मार्की खेलाडी रुबिना क्षेत्री, विराटनगरका करुणा भण्डारी, धनगढीका सिता राना मगर र काठमाडौंको मार्की खेलाडी नेरी थापा रहेकी छिन् ।
प्रतियोगिता विराटनगरको बैजनाथ क्रिकेट मैदानमा बैशाख ७ देखि १४ गतेसम्म हुने आयोजक एनसिएल स्पोर्टस प्रालिका प्रबन्ध निर्देशक जयराज रायले जानकारी दिए ।
चैत १ गतेबाट हुने भनिएपनि यसै साता सुदुरपश्चिममा भएको मुख्यमन्त्री कप र प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुदका कारण प्रतियोगिता सारिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको लागि खेलाडी छनोट अक्सनबाट गरिने आयोजकले जनाएको छ । खेलाडीलाई तीन श्रेणीमा वर्गिकरण गरेर अक्सन गरिनेछ ।
पछिल्लो दुई बर्षयता राष्ट्रिय टिममा स्थान बनाएका खेलाडीलाई पहिलो श्रेणीमा राखिएको छ । दुई बर्षयता टिम बाहिर रहेका खेलाडीलाई दोस्रो श्रेणीमा राखिएको छ । क्षेत्रीय एवंम जिल्ला स्तरीय र क्लब स्तरका खेलाडीलाई तेस्रो अथवा सी श्रेणीमा समावेश गरिएको छ ।
खेलाडीको अक्सन मुल्य सोही श्रेणी अनुसारको रहेको छ । पहिलो श्रेणीको न्युनतम मुल्य ४० देखि अधिकतम ७५ हजार रुपैयाँ रहेको छ । दोस्रोको २५ देखि ५० हजार र तेस्रो श्रेणीका खेलाडीको १५ देखि २५ हजार मुल्य रहेको छ ।